Logo

२८ बैशाख, काठमाडौँ । संघीय संसद्को बर्खे अधिवेशन आज सोमबारदेखि सुरु हुँदैछ, जहाँ सरकारको आगामी आर्थिक वर्षको बजेट मुख्य कार्यसूचीका रूपमा रहनेछ ।

बजेटका अतिरिक्त, वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारले जारी गरेका आठवटा अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकहरू यसै अधिवेशनको महत्त्वपूर्ण विजनेश बन्ने भएका छन् ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, अधिवेशनको पहिलो दिन आजै ती अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकहरू पेस गरिँदैछ। प्रधानमन्त्री शाहले आफैँ तीनवटा महत्त्वपूर्ण अध्यादेशहरू- ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ ,सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३, र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ संसद्मा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी, मन्त्रिपरिषद्का अन्य सदस्यहरूले पनि आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित अध्यादेशहरू पेस गर्नेछन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश र कानुनमन्त्री सोबिता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गर्ने कार्यसूची छ। सहकारी क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश प्रस्तुत गर्नेछिन् भने स्वास्थ्यमन्त्री निशा मेहता र शिक्षामन्त्री सस्मित पोखरेलले स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्वविद्यालयसँग सम्बन्धित अध्यादेशहरू पेस गर्नेछन् ।

दिउँसो २ बजेबाट सुरु हुने अधिवेशनको अर्को मुख्य आकर्षण अपराह्न ४ बजे बस्ने संयुक्त बैठक हुनेछ । उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

सचिवालयका अनुसार सरकारले अन्य विधेयकहरू पनि तयारी अवस्थामा रहेको जानकारी दिए तापनि ती हालसम्म दर्ता भइसकेका छैनन् । बजेट निर्माण र अध्यादेश प्रतिस्थापनको यो दोहोरो जिम्मेवारीले गर्दा यसपटकको बर्खे अधिवेशन निकै व्यस्त रहने देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै