Logo

२८ बैशाख, काठमाडौँ । देशका विभिन्न भागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण आज वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ ।

विशेष गरी रातिको समयमा मौसमी प्रणाली थप सक्रिय हुने प्रक्षेपण गरिएको छ । राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । हिमाली भेगका उच्च स्थानहरूमा भने वर्षासँगै हिमपातको समेत प्रक्षेपण गरिएको छ, जसले गर्दा ती क्षेत्रको जनजीवन प्रभावित हुन सक्ने देखिन्छ ।

काठमाडौँ उपत्यकामा पनि आज मौसममा आंशिक बदली भई साँझपख हल्का वर्षा हुने सम्भावना छ । उपत्यकामा दिनभर घाम र बादलको लुकामारी चल्ने भए तापनि ढिलो गरी पानी पर्ने देखिएको हो ।

महाशाखाले वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । वर्षाको मात्रा र प्रभावका आधारमा महाशाखाले हल्कादेखि मध्यम वर्षाको वर्गीकरण गर्दै १० देखि ५० मिलिमिटरसम्म पानी पर्न सक्ने जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै