Logo

१४ जेठ, काठमाडौँ । गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको बढुवा समितिको बैठकले जनपद र प्राविधिकतर्फका रिक्त रहेका उच्च पदहरूमा पदोन्नतिका लागि योग्य अधिकृतहरूको नामावली सार्वजनिक गरेको हो । प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) को कानुनी व्यवस्था र मापदण्ड अनुसार नै यो बढुवा सिफारिस गरिएको समितिले स्पष्ट पारेको छ ।

समितिका अनुसार जनपद प्रहरी समूहको रिक्त रहेको एक मात्र एसएसपी पदका लागि हाल जिल्ला प्रहरी कार्यालय, धनुषाको कमान्ड सम्हाल्दै आएका प्रहरी उपरीक्षक अमरेन्द्र बहादुर सिंहलाई बढुवाका लागि सिफारिस गरिएको छ । धनुषामा रहँदा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा खेलेको भूमिकाको मूल्याङ्कन गर्दै उनलाई जनपदतर्फ एकल सिफारिस गरिएको बुझिएको छ ।

यसैगरी, नेपाल प्रहरीको प्राविधिक विधातर्फ स्वास्थ्य उपसमूह (चिकित्सक) तर्फबाट एक जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । यसरी सिफारिस हुनेमा नेपाल प्रहरी अस्पताल, स्त्री तथा प्रसूति शाखा महाराजगञ्जमा कार्यरत वरिष्ठ चिकित्सक डा. सेवक श्रेष्ठ रहेका छन् ।

प्राविधिककै इन्जिनियरिङ्ग उपसमूह अन्तर्गत सूचना प्रविधि कम्प्युटरतर्फ दुई जना एसपीहरूलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सूचना प्रविधि निर्देशनालयलाई थप सुदृढ बनाउने रणनीति अन्तर्गत अपराध अनुसन्धान विभाग, सूचना प्रविधि निर्देशनालय नक्सालमा कार्यरत सरोज शाक्य र प्रहरी प्रधान कार्यालय, सूचना प्रविधि निर्देशनालय नक्सालमै कार्यरत मनिषराज सापकोटालाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।

सिफारिस गरिएका अधिकारीहरूविरुद्ध कुनै उजुरी नपरेमा गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट केही दिनभित्रै उनीहरूलाई दर्ज्यानी चिन्ह (फुली) सुशोभन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

1

2

3


सम्बन्धित समाचार
भर्खरै