Logo

१५ जेठ, गौर (रौतहट) । जिल्ला भित्रका विभिन्न आपराधिक तथा कानुनी दायरा बाहिर रहेका दोषीहरूलाई कानुनको कठघरामा ल्याउन जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो विशेष अभियानलाई तीव्र पारेको छ ।

अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय तथा जरिवाना फैसला भए तापनि लामो समयदेखि लुकिछिपी बस्दै आएका १६ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकैसाथ पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले जिल्लाभर चलाएको सुराकी र विशेष अपरेसनका क्रममा चेक अनादर (चेक बाउन्स), कुटपिट, लुटपाट तथा संवेदनशील मानिएको बालबालिका बेचबिखन जस्ता गम्भीर मुद्दाका फरार अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सबै प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया र फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत गौरमा बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त गौतमका अनुसार पक्राउ परेकामध्ये एक जना मानव तस्करहरूको सञ्जालमा जोडिएका बालबालिका बेचबिखन मुद्दाका मुख्य प्रतिवादी रहेका छन् । अन्य पक्राउ पर्नेहरूमा भने अधिकांश पछिल्लो समय सामाजिक समस्याका रूपमा वित्तीय अपराध अन्तर्गत मौलाउँदै गएको चेक अनादर मुद्दाका फरार अभियुक्तहरू रहेका छन् । पक्राउ परेका अभियुक्तहरूमध्ये केहीलाई अदालतले कैद सजाय तोकेको थियो भने अधिकांशलाई जरिवानाको फैसला सुनाएको थियो ।

विशेष अभियान अन्तर्गत पक्राउ परेका यी १६ जना प्रतिवादीहरूबाट तत्कालै ११ हजार ६ सय रुपैयाँ जरिवाना समेत असुलउपर गरिएको प्रहरीले जनाएको छ ।  रौतहट प्रहरीले समाजमा दण्डहीनताको अन्त्य गर्न र न्यायालयको आदेशलाई पूर्ण रूपमा कार्यान्वयन गराउन यो पक्राउ अभियान सुरु गरेको हो ।

डीएसपी गौतमले जिल्लाका अन्य क्षेत्रमा लुकिछिपी बसेका विभिन्न मुद्दाका फरार प्रतिवादीहरूको सूची तयार गरी उनीहरूको खोजी कार्य र निगरानीलाई समेत निकै तीव्र बनाइएकाले अपराधीहरू कानुनी फन्दाबाट उम्किन नसक्ने स्पष्ट पारे  ।


सम्बन्धित समाचार
भर्खरै