१० असार,वीरगञ्ज । जीतपुर–बकुलिया क्षेत्रका बासिन्दाले लामो समयदेखि प्रतीक्षामा रहेको शुद्ध खानेपानी सेवा अब छिट्टै घरघरमै पाउने भएका छन्। वर्षौंअघि निर्माण सम्पन्न भए पनि विभिन्न कारणले सञ्चालनमा आउन नसकेको बकुलिया खानेपानी आयोजना अन्ततः उपभोक्तासम्म पानी पुर्याउने अन्तिम तयारीमा पुगेको छ।
भवानीपुर–जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले घरधुरीमा धारा जडानका लागि आवेदन संकलन प्रक्रिया सुरु गर्ने भएको छ। संस्थाका अध्यक्ष हरेराम कामीद्वारा जारी सूचनामा सेवा लिन इच्छुक उपभोक्तालाई आवश्यक कागजातसहित संस्थाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
स्थानीय बासिन्दालाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब तीन दशकअघि निर्माण गरिएको बकुलिया खानेपानी ट्याङ्की विभिन्न प्राविधिक तथा प्रशासनिक जटिलताका कारण पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन। पटक–पटकका प्रयासका बाबजुद योजना कार्यान्वयन हुन नसक्दा स्थानीयवासीले अपेक्षित सुविधा पाउन सकेका थिएनन्।
हाल वितरण सञ्जाल विस्तारको अधिकांश काम सम्पन्न भइसकेको छ भने आयोजना सञ्चालन अन्तिम चरणमा पुगेको जनाइएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाका अनुसार नगर प्रमुख राजन पौडेलले आयोजनाको नियमित अनुगमन गर्दै समयमै काम सम्पन्न गर्न सम्बन्धित निकायलाई सक्रिय बनाउँदै आएका छन्।
खानेपानी वितरणका लागि पाइपलाइन विस्तार गर्नुपर्ने क्षेत्रमा सडक, पुल तथा अन्य संरचनासम्बन्धी प्राविधिक समस्याका कारण केही समय काम प्रभावित भएको थियो। अनुमति प्रक्रिया, सडक कटान तथा संरचना व्यवस्थापनसम्बन्धी विषयले पनि परियोजनामा ढिलाइ भएको बताइएको छ। पछिल्लो समय भने वितरण प्रणाली विस्तारको कामलाई तीव्रता दिइएको छ।
संस्थाका पदाधिकारीका अनुसार मुख्य पाइपलाइन जडानको कार्य लगभग सम्पन्न भइसकेको छ। अब घरधुरीमा धारा जडानको काम अगाडि बढाइनेछ। प्रारम्भिक चरणमा जीतपुर र बकुलिया क्षेत्रका सयौं परिवारलाई खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
यसैबीच, उपमहानगरपालिकाका पूर्वाधार शाखा प्रमुख इन्जिनियर अभयकान्त झाले खानेपानी संस्थाको कार्यालय व्यवस्थापनलाई समेत व्यवस्थित बनाउने काम भइरहेको जानकारी दिएका छन्। कार्यालयको उचित व्यवस्थापन नहुँदा धारा जडानका लागि आउने सेवाग्राहीले कार्यालय बन्द रहेको ठानेर फर्किनुपर्ने अवस्था देखिएकाले त्यसको समाधानका लागि आवश्यक व्यवस्था मिलाइँदै गरेको उनले बताए।
लामो समयदेखि प्रतिक्षामा रहेको आयोजना सञ्चालनको अन्तिम तयारी पूरा हुँदै जाँदा स्थानीयवासी उत्साहित बनेका छन्। नियमित र स्वच्छ खानेपानी उपलब्ध भएसँगै दैनिक जीवन सहज हुने तथा पानीजन्य रोगको जोखिम घट्ने अपेक्षा गरिएको छ। आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि जीतपुर–बकुलिया क्षेत्रको सुरक्षित खानेपानीको दशकौं पुरानो आवश्यकता पूरा हुने विश्वास गरिएको छ।

















