१० असार, काठमाडौँ । दशकौँअघि नेपालका मन्दिर र विहारहरूबाट चोरी भई अवैध रूपमा अमेरिका पुर्याइएका दुईवटा अमूल्य प्राचीन मूर्तिहरू नेपाल सरकारलाई औपचारिक रूपमा फिर्ता गरिएको छ ।
न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित एक विशेष समारोहका बीच न्युयोर्कको सरकारी वकिलको कार्यालयले १३औँ शताब्दीको ‘पद्मपाणी’ र १६औँ शताब्दीको ‘नृत्यदेवी’ को मूर्तिको स्वामित्व नेपाललाई हस्तान्तरण गरेको हो ।
समारोहमा न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारी र म्यानहटन सरकारी वकिलको कार्यालयअन्तर्गतको पुरातात्त्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले सम्पदा हस्तान्तरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे ।
१३औँ शताब्दीको कास्यको पद्मपाणी मूर्ति काठमाडौँको ठमेलस्थित थमबहिल (विक्रमशील महाविहार, भगवानबहाल) को यो अनुपम कलाकृति हो। अभिलेख अनुसार यस मूर्तिको नेपालमा अन्तिम तस्बिर सन् १९७१ मा लिइएको थियो । सन् १९७१ देखि १९७७ को बीचमा कुनै समय यसलाई अवैध रूपमा अमेरिका तस्करी गरिएको विश्वास गरिन्छ ।
१६औँ शताब्दीको काष्ठ निर्मित नृत्यदेवी मूर्ति ललितपुरको इबहा बहीको उत्कृष्ट काष्ठकलाको नमुना मानिने यो मूर्ति सन् १९६९ र १९८३ को बीचमा चोरी भएको अनुमान छ। यो मूर्ति पछि न्युयोर्कस्थित चर्चित महानगर सङ्ग्रहालय (द मेट्रोपोलिटन म्युजियम अफ आर्ट) बाट सरकारी टोलीले बरामद गरेको थियो।
यी दुवै ऐतिहासिक सम्पदाहरू न्युयोर्क सरकारी वकिलको कार्यालयले अमेरिकी गृह सुरक्षा अनुसन्धान निकाय (HSI) र अन्य साझेदार संस्थाहरूसँगको सघन सहकार्य र खोजी अभियानपछि फेला पारेको हो ।
स्वामित्व हस्तान्तरण भइसकेका यी अमूल्य मूर्तिहरूलाई भोलि (जुन २५ तारिख) नै अमेरिकाबाट नेपालका लागि रवाना गरिने महावाणिज्यदूतावासले जनाएको छ। मूर्तिहरूको सुरक्षित ढुवानी र व्यवस्थापनको सम्पूर्ण कार्य महावाणिज्यदूतावास र ‘नेवा गुठी न्युयोर्क’ को समन्वयमा भइरहेको छ।
विशेष कुरा, स्वदेश फिर्ता गरिँदा नेवा गुठीका प्रतिनिधिहरू आफैँ मूर्तिहरूसँगै नेपालसम्म यात्रा (स्कर्टिङ) गरेर आउनेछन्। काठमाडौँ आइपुगेलगत्तै ती सम्पदाहरूलाई आवश्यक कानुनी र पुरातात्त्विक प्रक्रिया पूरा गरी नेपाल सरकारको पुरातत्त्व विभागलाई जिम्मा लगाइनेछ।
समारोहमा महावाणिज्यदूत भण्डारीले नेपाल सरकार र नेपाली जनताका तर्फबाट अमेरिकी सरकार, अनुसन्धानकर्ता, सङ्ग्रहालय एवं सम्पदा संरक्षण अभियन्ताहरूप्रति विशेष आभार प्रकट गर्नुभयो। उहाँले नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको अवैध ओसारपसार नियन्त्रणका लागि विकास भइरहेको यो सहकार्य अन्तर्राष्ट्रिय साझेदारीको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्नुभयो।
न्युयोर्कमा आयोजित उक्त हस्तान्तरण समारोहमा अमेरिकी गृह सुरक्षा निकायका उच्च अधिकारी, मेट्रोपोलिटन म्युजियमका प्रतिनिधि, प्राध्यापकहरू, सम्पदा संरक्षणकर्मी तथा नेपाली समुदायका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

















