९ असार, चितवन । कसैका लागि घर भनेको आफ्ना आमाबाबु, दाजुभाइ–दिदीबहिनी र परिवारसँगको सुरक्षित बासस्थान हो। तर जीवनको कुनै मोडमा परिवार गुमाएका, अभिभावकको माया नपाएका वा विभिन्न कारणले असहाय बनेका बालबालिकाका लागि घरको अर्थ फरक हुन्छ। त्यस्ता बालबालिकालाई माया, सुरक्षा, शिक्षा र भविष्यको भरोसा दिने एउटा सानो आश्रयस्थल हो—‘सानो घर’।
भरतपुर महानगरपालिका–५, गुम्माटोलमा सञ्चालित ‘सानो घर ९बालगृह०’ आज १६ वर्ष पूरा गरेर असहाय बालबालिकाको जीवनमा आशाको दियो बालिरहेको छ। २०६७ साल जेठ ९ गते पाँच जना बालबालिकाबाट सुरु भएको यो अभियान अहिले १२ जना बालबालिकाको अभिभावक बनेर उभिएको छ।
यस अभियानको केन्द्रमा छिन् बिमला श्रेष्ठ। उहाँको मनमा सानैदेखि समाजका गरिब, दुःखी र असहाय मानिसहरूका लागि केही गर्नुपर्छ भन्ने सोच थियो। आफ्नै छोरी अटिजम भएकी हुँदा बालबालिकाप्रतिको संवेदनशीलता झनै गहिरियो। त्यही संवेदना र सेवाभावले एउटा सपना जन्मियो, जसले पछि ‘सानो घर’को रूप लियो।
रत्ननगर–२, सुब्बाचोकबाट नौ सदस्यीय कार्यसमिति गठन गरी सुरु भएको संस्थाले अहिले भरतपुरमा आफ्नै पहिचान बनाइसकेको छ। तर यो यात्रा सजिलो थिएन। सुरुका दिनहरूमा आर्थिक अभाव, व्यवस्थापनको चुनौती र बालबालिकाको जिम्मेवारीले कहिलेकाहीँ कठिन मोडहरू पनि ल्यायो।
ती दिनहरू सम्झँदा बिमला श्रेष्ठ अझै भावुक बन्नुहुन्छ। “पहिला धेरै गाह्रो थियो,” उहाँ भन्नुहुन्छ, “तर बच्चाहरूको मुस्कानले सबै दुःख भुलाइदिन्थ्यो। उनीहरूसँग बसेपछि मनमा शान्ति मिल्थ्यो। यही खुशीले अगाडि बढ्ने ऊर्जा दिन्थ्यो।”
संस्था सञ्चालनका लागि कुनै विदेशी दातृ निकायको सहयोग लिइएको छैन। स्थानीय सहयोगी, शुभेच्छुक, जन्मदिन, विवाह, पितृकार्य, चाडपर्व र विभिन्न सामाजिक अवसरमा प्राप्त सहयोगकै भरमा संस्था सञ्चालन हुँदै आएको छ।
कहिलेकाहीँ बालबालिकाको खानपान र शिक्षाको खर्च जुटाउन चिया बेचिएको छ, पानीपुरी बेचिएको छ, चितवन महोत्सवमा स्टल राखिएको छ। आवश्यक पर्दा संस्थाका सदस्यहरूले आफ्नै व्यक्तिगत स्रोतसमेत खर्च गरेका छन्। तर बालबालिकाको भविष्य निर्माण गर्ने अभियानमा कहिल्यै सम्झौता गरिएको छैन।
बिमला श्रेष्ठका लागि आश्रयमा रहेका बालबालिका केवल संरक्षणका पात्र होइनन्, आफ्नै सन्तान हुन्। फरक–फरक जिल्ला, फरक पारिवारिक पृष्ठभूमि र फरक पीडाबाट आएका बालबालिकालाई एउटै परिवारमा बाँधेर राख्नु सहज काम होइन। कहिलेकाहीँ उनीहरूबीच सामान्य विवाद र मनमुटाव पनि हुन्छ।
त्यस्ता बेला उहाँ सबैलाई एकै ठाउँमा राखेर आफ्ना विगत सम्झन लगाउनुहुन्छ। “यहाँ आउनुअघि तपाईंहरूको अवस्था कस्तो थियो, त्यो सम्झनुस्,” उहाँले भन्नेबित्तिकै धेरै बालबालिका भावुक हुने गर्छन्। केही क्षणमै एकअर्कालाई अँगालो हालेर रोइरहेका दृश्य देखिन्छन्। ती क्षणहरूले परिवारको महत्व र एकताको अनुभूति गराउँछन्।
“सानो हुँदा यहाँ आएका बच्चाहरू अहिले मलाई आफ्नै आमाजस्तो माया गर्छन्,” उहाँ गहभरि आँसु पार्दै भन्नुहुन्छ, “उनीहरूलाई छोडेर टाढा बस्न मन नै लाग्दैन।”
संस्थाको यात्रामा सुरुदेखि साथ दिँदै आएकी कोषाध्यक्ष अन्जुला श्रेष्ठ पनि यो अभियानलाई जीवनको महत्वपूर्ण अध्याय मान्नुहुन्छ। “संस्था स्थापना भएदेखि नै हामी साथमै छौँ,” उहाँ भन्नुहुन्छ, “यो पुण्यको काम हो। बच्चाहरूको प्रगति, उनीहरूको मुस्कान र सफलताले नै हामीलाई निरन्तर काम गर्न प्रेरणा दिन्छ।”
भरतपुर–१० मा गर्ल्स होस्टेल सञ्चालन गरिरहेकी अन्जुला श्रेष्ठ व्यस्त समयतालिकाका बीच पनि नियमित रूपमा बालगृह पुग्ने गर्नुहुन्छ। “हप्तामा एकपटक नआएँ भने केही छुटेजस्तो लाग्छ,” उहाँ भन्नुहुन्छ, “बच्चाहरूसँग बिताएको समयले मनलाई आनन्द दिन्छ।”
‘सानो घर’ले विगत १६ वर्षमा धेरै बालबालिकाको परिवारसँग पुनर्मिलन गराइसकेको छ। पुनर्मिलन भएका बालबालिका अहिले पनि संस्थासँग सम्पर्कमा छन्। उनीहरूको प्रगति र सफलताका खबरहरूले संस्थाका सदस्यलाई थप उत्साहित बनाउँछन्।
संस्थाले केवल आश्रयमा रहेका बालबालिकालाई मात्र होइन, घरमै बसेर अध्ययन गरिरहेका आवश्यकतामा परेका बालबालिकालाई पनि सहयोग गर्दै आएको छ। लमजुङमा रहेका दुई जना बालबालिकालाई संस्थाले वार्षिक ४८ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिरहेको छ। उनीहरू बेँसीसहरको भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत छन्।
हाल ‘सानो घर’मा आश्रय लिइरहेका बालबालिका प्रेमबस्ती माध्यमिक विद्यालय, लक्ष्मी माध्यमिक विद्यालय र भरतपुर माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन्। विद्यालयका शिक्षकहरूले उनीहरूको अनुशासन, अध्ययन र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्ने गरेका छन्।
बच्चाहरू पुरस्कार जितेर आउँदा, प्रतियोगितामा सफल हुँदा वा निधारमा अबिर लगाएर खुसीसाथ घर फर्किँदा आफूले पाउने आनन्द शब्दमा बयान गर्न नसकिने बिमला श्रेष्ठ बताउनुहुन्छ। “मरेर केही पनि लैजाने होइन,” उहाँको भनाइ छ, “आफ्नो परिवारलाई खुसी राख्नु त सबैले गर्छन्, तर असहाय बालबालिकालाई खुसी राख्नु पनि समाजप्रतिको जिम्मेवारी हो।”
हाल संस्था आठ कट्ठा क्षेत्रफलमा भाडामा लिइएको भवनमा सञ्चालन भइरहेको छ। त्यहाँ आठ वटा कोठा, एउटा हल र आवश्यक आधारभूत संरचनासहित १२ जना बालबालिकालाई आवास तथा शिक्षा उपलब्ध गराइँदै आएको छ। संस्थाका पदाधिकारी, परिवारका सदस्य, छरछिमेक, आफन्त तथा स्थानीय सहयोगीहरूको निरन्तर साथले यो अभियान यहाँसम्म आइपुगेको अन्जुला श्रेष्ठ बताउनुहुन्छ।
१६ वर्षको यात्रा पूरा गरेको ‘सानो घर’ केवल एउटा बालगृह होइन, मानवताको जीवित उदाहरण बनेको छ। राज्यको नीतिअनुसार असहाय बालबालिकालाई संरक्षण, शिक्षा र पारिवारिक वातावरण उपलब्ध गराउनु चुनौतीपूर्ण काम हो। तर आँसु, संघर्ष, त्याग र अथाह ममताले सिँचिएको यो अभियानले समाजलाई एउटा गहिरो सन्देश दिएको छ।
आफ्ना लागि बाँच्ने मानिस धेरै भेटिन्छन्, तर अरूका सन्तानलाई आफ्नै सन्तानझैँ माया गरेर हुर्काउने मन भने विरलै पाइन्छ। ‘सानो घर’ले त्यही दुर्लभ मानवतालाई जीवन्त बनाइरहेको छ, जहाँ आश्रय पाएका बालबालिकाले केवल बस्ने ठाउँ मात्र होइन, परिवार, माया र भविष्यको भरोसा पाएका छन्।

















