९ असार,वीरगञ्ज । सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी छ महिनाभित्र टुङ्ग्याउने घोषणा गरे पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वार्षिक विकास कार्यक्रममा उक्त आयोजनाका लागि कुनै बजेट विनियोजन गरिएको छैन।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यमा निजगढ विमानस्थल निर्माणलाई अघि बढाउने प्रतिबद्धता जनाएका थिए। तर मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा निजगढ विमानस्थल समावेश नभएको पाइएको छ।
मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणमा सेयर तथा ऋण लगानीमार्फत भरतपुर, दाङ र सुर्खेत विमानस्थलको स्तरोन्नतिका लागि बजेट छुट्याएको छ। यस्तै, पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सगरमाथा विमानस्थल, दार्चुलाको गोकुलेश्वर विमानस्थल तथा जुम्ला विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ।
कार्यक्रमअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ई–गेट प्रणाली जडान गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। उदयपुरमा निर्माण प्रस्तावित सगरमाथा विमानस्थलका लागि १ करोड रुपैयाँ छुट्याइएको छ भने दार्चुलाको गोकुलेश्वर विमानस्थल सुदृढीकरणका लागि पनि १ करोड रुपैयाँ बजेट राखिएको छ। जुम्ला विमानस्थलको जग्गा अधिग्रहणका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।
भरतपुर विमानस्थल विस्तार तथा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सहित पूर्वाधार निर्माणका लागि ७५ करोड रुपैयाँ बजेट छुट्याइएको छ। साथै विमानस्थल विस्तारका क्रममा आवश्यक जग्गाको शोधभर्ना वापत नेपाली सेनालाई उपलब्ध गराउन थप २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
त्यसैगरी, तुल्सीपुर विमानस्थलको धावनमार्ग १,५०० मिटरमा विस्तार गर्न जग्गा व्यवस्थापन तथा अन्य पूर्वाधार विकासका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ। सुर्खेत विमानस्थलको धावनमार्ग थप ३०० मिटर विस्तार गर्न २० करोड रुपैयाँ बजेट छुट्याइएको पर्यटन मन्त्रालयले जनाएको छ।
सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्ने घोषणा गरे पनि बजेट विनियोजन नगरेपछि आयोजना कार्यान्वयनको विषयमा थप अन्योल सिर्जना भएको देखिएको छ।

















