Logo

९ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ। पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार दिउँसो २ बजेपछि बन्दसत्र प्रारम्भ हुने जनाइएको छ।

दिउँसो २ बजेसम्म प्रतिनिधिहरूलाई परिचयपत्र वितरणलगायतका प्रक्रिया पूरा गर्ने तयारी गरिएको छ। बन्दसत्रमा विभिन्न तहका नेतृत्वकर्ताहरूले ६ वटा महत्वपूर्ण प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

बन्दसत्रको सुरुवातसँगै सभापति रवि लामिछानेले सत्र उद्घाटन गर्नेछन्। त्यसपछि अनुशासन आयोगका रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्।

त्यसपछि कोषाध्यक्ष लीमा अधिकारीले आर्थिक (वित्तीय) प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन, सहमहामन्त्री विपिन आचार्यले विधान संशोधन प्रस्ताव तथा उपसभापति डा. स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

अन्त्यमा सभापति लामिछानेले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।सबै प्रतिवेदनमाथि छलफल र पारित भएपछि साँझतिर निर्वाचन प्रक्रिया सुरु हुने पार्टीले जनाएको छ।

असार ७ गते भरतपुरको गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजना गरिएको हो। प्रतिनिधि छनोट प्रक्रियामा देखिएको विवादका कारण सोमबार सुरु हुनुपर्ने बन्दसत्र आजका लागि सारिएको थियो।


सम्बन्धित समाचार
भर्खरै