९ असार,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–३ जमुनिया स्थित सीमावर्ती क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको ६ सय वटा प्रतिबन्धित हाँस र कुखुराका चल्ला सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) पिडारीगुठीबाट खटिएको टोलीले गस्तीका क्रममा शंकास्पद गतिविधि देखेपछि निगरानी बढाएको थियो। प्रहरी टोलीलाई देख्नासाथ दुई जना व्यक्तिले साइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेका चल्लाहरू छाडेर साइकलसहित भारततर्फ फरार भएका थिए।
बरामद गरिएका हाँस र कुखुराका चल्लाको अनुमानित मूल्य १ लाख ८० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
पशुजन्य रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बरामद चल्लाहरू पशु चिकित्सक, स्थानीय भद्रभलाद्मी तथा नेपाल प्रहरीको रोहवरमा बीओपीको परिधि नजिक रहेको खाली जग्गामा खाडल खनेर नष्ट गरिएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।