Logo

९ असार,वीरगञ्ज । पथलैया–वीरगन्ज ६ लेन सडक खण्डमा ट्राफिक तथा सडक व्यवस्थापन प्रभावकारी हुन नसक्दा सवारी दुर्घटनाको संख्या बढ्दै गएको भन्दै जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

पथलैया, सिमरा, बजनी, जितपुर, छातापिपरा, नितनपुर र भलुहीलगायत क्षेत्रमा नियमित रूपमा सवारी दुर्घटना भइरहेका छन्। सोमबार छातापिपरामा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको घटनाले सडक सुरक्षाको अवस्था झन् चिन्ताजनक बनेको मेयर पौडेलले बताएका छन्।

उनका अनुसार स्थानीयवासीले दुर्घटनाको बढ्दो क्रमप्रति निरन्तर चिन्ता र आक्रोश व्यक्त गर्दै आएका छन्। सामाजिक सञ्जाल तथा प्रत्यक्ष रूपमा नागरिकहरूले सुरक्षित सडक र प्रभावकारी ट्राफिक व्यवस्थापनको माग गरिरहेका छन्।

मेयर पौडेलले गृहमन्त्री सुदन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्सालको ध्यानाकर्षण गराउँदै पथलैया–वीरगन्ज सडक खण्डमा ट्राफिक व्यवस्थापन सुदृढ बनाउन, आवश्यक संकेत चिन्ह राख्न, सवारीको गति नियन्त्रण गर्न तथा सडक सुरक्षाका अन्य उपायहरू तत्काल लागू गर्न आग्रह गरेका छन्।

दुर्घटना न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उनले बताएका छन्।

छातापिपरामा भएको दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर पौडेलले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना पनि प्रकट गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै