९ असार,काठमाडौं । जलवायु परिवर्तनका कारण पछिल्लो आधा शताब्दीमा विश्वभर अत्यधिक तापक्रमबाट हुने ‘हिट स्ट्रेस’को समस्या उल्लेखनीय रूपमा बढेको एक नयाँ अध्ययनले देखाएको छ। सन् १९७० को दशकको तुलनामा हाल झन्डै एक अर्ब थप मानिस अत्यधिक हिट स्ट्रेसको जोखिममा परेको अध्ययनको निष्कर्ष छ।
‘नेचर क्लाइमेट चेन्ज’ जर्नलमा प्रकाशित अध्ययनले सन् १९७० देखि २०२४ सम्म विश्वभर हिट स्ट्रेसको अवस्थाबारे विश्लेषण गरेको हो। अत्यधिक तापक्रम, आर्द्रता तथा अन्य वातावरणीय कारणले शरीरमा तातो जम्मा भई उत्पन्न हुने तनावलाई हिट स्ट्रेस भनिन्छ।
अध्ययनअनुसार रातको समयमा तापक्रम नघट्दा र शरीरले पर्याप्त रूपमा चिसिन नपाउँदा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। विशेषगरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरूका लागि यस्तो अवस्था थप जोखिमपूर्ण हुने अनुसन्धानले औँल्याएको छ।
अध्ययनकी प्रमुख लेखक रेबेका एमर्टनका अनुसार हिट स्ट्रेसको समस्या सबै महादेशमा बढ्दो क्रममा रहे पनि पछिल्ला वर्षहरूमा युरोप सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक बनेको छ। स्पेन, पोर्चुगल, इटाली र फ्रान्सजस्ता देशहरूमा अहिले मानिसले महसुस गर्ने तापक्रम सन् १९७० को दशकको तुलनामा पाँच डिग्री सेल्सियससम्म बढेको उनले बताएकी छन्।
यसैबीच, फ्रान्समा यो वर्षको दोस्रो तीव्र गर्मीको लहरका क्रममा सोमबार दुई बालबालिकाको मृत्यु भएको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण गर्मीको लहर अझ तीव्र, लामो र बारम्बार हुन थालेको चेतावनी दिँदै अनुकूलन र जोखिम न्यूनीकरणका उपायहरूमा ध्यान दिन आग्रह गरेका छन्।

















