Logo

९ असार, काठमाडौं । पछिल्ला केही महिनायता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।

विगत तीन महिनाको अवधिमा विश्व बजारमा सुनको मूल्य प्रतिऔँस ३३ प्रतिशतले घटिसकेको छ । इरान–अमेरिका द्वन्द्वको प्रभाव र विश्व अर्थतन्त्रको अस्थिरताका कारण एक समय ५ हजार ५८९ डलरसम्म पुगेको सुनको मूल्य हाल ४ हजार १९६ डलरमा झरेको छ ।

तर, विश्व बजारमा आएको यो ठुलो गिरावटको तुलनामा नेपाली बजारमा सुनको मूल्य १० प्रतिशतको हाराहारीमा मात्र घटेको देखिन्छ, जसले गर्दा उपभोक्ताले सोचेजस्तो लाभ पाउन सकेका छैनन् ।

करको भारी र भन्सारमा दोब्बर वृद्धि

नेपाली बजारमा सुनको मूल्य नघ्नुको मुख्य कारण सरकारको पछिल्लो कर नीति हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ल्याएको चालु आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार महसुल १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याइएको छ ।

यसअघि २ प्रतिशत लाग्दै आएको विलासिता कर हटाइएपनि भन्सार शुल्कमा गरिएको दोब्बर वृद्धिले सुनको मूल्यलाई उच्च विन्दुमा नै अड्याएर राखेको छ । भारतमा सुनको मूल्य र करको दरलाई सन्तुलनमा राख्न र सिमानाबाट हुने सम्भावित सुन तस्करी रोक्न भन्दै व्यवसायीहरूको मागबमोजिम नै सरकारले यो निर्णय लिएको थियो, जसको प्रभावस्वरूप जेठ १७ गते मात्रै सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको थियो ।

डलरको बलियो दर र बजार व्यवस्थापनमा चुनौती

मूल्य नघ्नुको अर्को प्राविधिक कारण अमेरिकी डलरको मजबुत स्थिति हो । नेपालमा सुन आयात गर्दा भुक्तानी डलरमा गर्नुपर्ने हुन्छ, र डलरको मूल्य हाल १५० रुपैयाँ ६२ पैसासम्म पुगेकाले सुन सस्तो हुने अवस्था नरहेको व्यवसायीहरूको भनाइ छ ।

यता, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य भने महासंघभित्रै बजार अध्ययन र दूरदर्शिताको कमी रहेको आरोप लगाउँछन्। उनका अनुसार अहिले सुनको माग अत्यन्त न्यून रहेको र बजारमा सुन बिक्रीको दबाब रहेकाले मूल्य अझ घट्नुपर्ने हो ।

भारत र चीनजस्ता ठुला उपभोक्ताले सुन खरिदमा देखाएको अरुचिका कारण विश्वव्यापी रूपमै मूल्य ओरालो लागे पनि नेपालमा भने सरकारी नीति र डलरको महँगीले सुन उपभोक्ताका लागि महँगो सावित भइरहेको छ ।


सम्बन्धित समाचार
भर्खरै