Logo

९ असार,काठमाडौं । बहुचर्चित राहदानी छपाइ ठेक्का प्रकरणमा मुछिएका राहदानी विभागका तत्कालीन महानिर्देशक तथा सहसचिव तीर्थराज अर्यालसहित सात जनालाई थुनछेक बहसका लागि विशेष अदालतमा उपस्थित गराइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २ गते अर्याललाई पक्राउ गरी विस्तृत अनुसन्धान पश्चात् १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । सोही अभियोगमा पक्राउ परेका प्रतिवादीहरूलाई आज अदालतमा हाजिर गराएर बयान प्रक्रिया अघि बढाइएको हो ।

विशेष अदालतका प्रवक्ता एवं उपरजिष्ट्रार कृष्णशरण लामिछानेका अनुसार, हाल इजलासमा प्रतिवादीहरूको बयान लिने कार्य भइरहेको छ । अदालतले आजै बयान सकेर थुनछेक बहस सुरु गर्ने तयारी गरेको छ ।

यद्यपि, बयान प्रक्रिया लम्बिएमा मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेर भोलि वा अर्को सुनुवाइमा बहसलाई निरन्तरता दिने सम्भावना पनि रहेको अदालत स्रोतले जनाएको छ । बयान र बहसपश्चात् उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा छाड्ने भन्ने सम्बन्धमा अदालतले आदेश जारी गर्नेछ ।

उक्त प्रकरणमा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४ सय ७७ रूपैयाँ बिगो दाबी गरिएको छ, जुन भ्रष्टाचारको निकै ठुलो र गम्भीर प्रकरणका रूपमा हेरिएको छ ।

अख्तियारले १० जना कर्मचारी, दुईवटा कम्पनी, चारजना विदेशी नागरिक र दुईवटा जर्मन कम्पनीका नेपाली प्रतिनिधिसहित कुल १८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको हो । महानिर्देशक अर्यालका साथै सूचना प्रविधि निर्देशक सुनिल केसी र तुलसी आचार्यसहितका व्यक्तिहरू यस प्रकरणमा मुख्य आरोपितका रूपमा रहेका छन् ।

“यसअघिको समाचारमा प्राविधिक कारणले केही त्रुटि हुन गएकाले सच्याइएको छ। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।”


सम्बन्धित समाचार
भर्खरै