Logo

९ असार,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले वन विकास, वातावरण संरक्षण तथा समुदायको आर्थिक समृद्धिका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै मधेश प्रदेशमै उत्कृष्ट स्थानीय तहको सम्मान प्राप्त गरेको छ।

नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रेड कार्यान्वयन केन्द्रले सञ्चालन गरेको ‘समृद्धिका लागि वन’ (Forests for Prosperity) परियोजनाअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा जगरनाथपुर गाउँपालिका मधेश प्रदेशमा प्रथम हुन सफल भएको हो।

उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप गाउँपालिकालाई प्रशंसा–पत्रसहित रु १ लाख २५ हजार नगद पुरस्कार प्रदान गरिएको रेड कार्यान्वयन केन्द्रले जनाएको छ। स्थानीय तहमा सञ्चालित कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वन संरक्षण, हरियाली प्रवर्द्धन, वातावरणीय सन्तुलन कायम राख्न तथा समुदायको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आधारमा गाउँपालिकालाई सम्मान गरिएको हो।

रेड कार्यान्वयन केन्द्रका राष्ट्रिय परियोजना निर्देशक तथा सहसचिव नवराज पुडासैनीद्वारा हस्ताक्षरित प्रशंसा–पत्रमा जगरनाथपुर गाउँपालिकाले वन तथा वातावरण क्षेत्रमा गरेको योगदानको उच्च मूल्याङ्कन गरिएको उल्लेख छ। साथै भविष्यमा पनि यस्तै प्रभावकारी कार्यलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरिएको छ।

गाउँपालिकाले प्राप्त गरेको यो उपलब्धिले स्थानीय स्तरमा वन संरक्षण, दिगो विकास तथा वातावरणमैत्री कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सम्भव रहेको सन्देश दिएको छ। सम्मान प्राप्त भएसँगै गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय समुदायमा उत्साह थपिएको छ।

स्थानीय तहको सक्रियता, समुदायको सहभागिता र वातावरण संरक्षणप्रतिको प्रतिबद्धताका कारण जगरनाथपुर गाउँपालिकाले प्रदेशस्तरमै उत्कृष्ट स्थान हासिल गरेको सरोकारवालाहरूको भनाइ छ।


सम्बन्धित समाचार
भर्खरै