Logo

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा जारी महाधिवेशनअन्तर्गतको बन्दसत्र निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको छ ।

सोमबार नै सञ्चालन हुनुपर्ने बन्दसत्र महाधिवेशन प्रतिनिधि छनोटमा देखिएको विवादका कारण मंगलबार दिउँसो मात्र सुरु हुन सक्यो । साढे २ बजेका लागि तय गरिएको बन्दसत्र प्रतिनिधि छनोटको विवाद समाधानमा नै समय खर्चिएपछि साढे ३ बजे मात्र सुरु भएको थियो। प्रतिनिधि चयनको सम्पूर्ण जिम्मा पार्टी सभापति रवि लामिछानेलाई सुम्पिएपछि मात्र बन्दसत्र अघि बढेको हो ।

बन्दसत्र सुरु हुनुअघि सभापति लामिछानेले कार्यक्रमलाई सम्बोधन गरेका थिए । बन्दसत्रको चर्चासँगै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाहको उपस्थितिप्रति सबैको चासो रहेको थियो । रास्वपाका प्रवक्ता मनिष झाले प्रधानमन्त्री शाह बन्दसत्रमा सहभागी हुने जानकारी दिएका थिए । यद्यपि, कार्यक्रम सुरु भइसक्दा समेत प्रधानमन्त्री शाह अनुपस्थित रहेपछि उनको सहभागिताबारे थप जिज्ञासा उत्पन्न भएको छ ।

पार्टीका नेताहरूले प्रधानमन्त्री शाह केही समयभित्रै बन्दसत्रमा सहभागी हुने बताएका छन्, तर उनको यकिन समय र अनुपस्थितिको कारणबारे औपचारिक जानकारी दिइएको छैन ।

प्रतिनिधि छनोटको विवाद र प्रधानमन्त्रीको अनुपस्थितिले भरतपुरस्थित उद्योग सङ्घको हलमा जारी बन्दसत्रमा केही असहजता देखिएको छ । अहिले सभापति लामिछानेको विशेष पहल र निर्देशनमा बन्दसत्रका अन्य आन्तरिक कार्यसूचीहरू अघि बढाइएको छ।


सम्बन्धित समाचार