Logo

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशनका क्रममा देखिएका प्रक्रियागत त्रुटि र मनमुटावलाई सडकमा नभई पार्टीभित्रै छलफल गरेर समाधान गर्न नेता–कार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।

भरतपुरमा जारी महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले यति ठुलो आयोजनामा केही कमजोरी हुनु स्वाभाविक भए पनि त्यसलाई व्यवस्थापन गर्ने शैलीमा नै पार्टीको परिपक्वता झल्किने बताए । उनले भने, ‘हामी परिपक्वतातर्फ अघि बढेको राजनीतिक दल हौँ, त्यसैले कुनै पनि जिज्ञासा वा असन्तुष्टि छन् भने कोठाभित्रै बसेर टुङ्ग्याउनुपर्छ ।’

पार्टीका आन्तरिक मतभेदहरूलाई ‘सडकको तमासा’ नबनाउन सचेत गराउँदै सभापति लामिछानेले स्वस्थ र स्वच्छ पार्टी निर्माणका लागि मर्यादित संवाद आवश्यक रहेकोमा जोड दिए । महाधिवेशन प्रक्रियामा केही चित्त नबुझ्ने परिस्थिति सिर्जना भए पनि त्यसलाई तमासाको रूपमा मैदानमा नलैजान उनले नेता–कार्यकर्तालाई आग्रह गरेका हुन् । ‘हामी आफ्ना मतभेदहरू आफैँ समाधान गर्न सक्ने क्षमता राख्छौँ,’ उनले थपे, ‘पार्टीलाई बलियो बनाउन यस्ता समस्याहरूलाई बन्द कोठाभित्रै विशिष्ट शैलीमा हल गर्ने परिपाटी बसाल्नुपर्छ।’

पछिल्लो समय रास्वपाभित्र प्रतिनिधि छनोट र महाधिवेशन व्यवस्थापनलाई लिएर केही असन्तुष्टिहरू सतहमा आएका थिए । सभापति लामिछानेले यस्ता आन्तरिक किचलोलाई तत्काल रोक्न र महाधिवेशनको मुख्य कार्यसूचीमा केन्द्रित हुन निर्देशन दिएपछि बन्द सत्र थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

पार्टीभित्रको लोकतान्त्रिक संस्कार बलियो बनाउँदै सडकमा जाने संस्कृतिलाई निरुत्साहित गर्ने लामिछानेको यो अभिव्यक्तिलाई रास्वपाको संगठनात्मक अनुशासन कायम राख्ने प्रयासका रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार