९ असार,काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ।
मंगलबार विभागका महानिर्देशक डा. उमेश दाहालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गत चैत ४ गते मोरङमा पहिलोपटक बर्ड फ्लु पुष्टि भएको थियो। त्यसयता संक्रमण फैलिँदै गएर हाल ११ जिल्लाका ८२ स्थानमा पुगिसकेको छ।
विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा बर्ड फ्लु देखिएको छ। प्रारम्भिक चरणमा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा संक्रमण पुष्टि भएको भए पनि पछिल्ला महिनामा मधेश र बागमती प्रदेशका विभिन्न जिल्लामा समेत फैलिएको विभागले जनाएको छ।
काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लामा संक्रमण देखिएको छ। केही दिनअघि ललितपुरस्थित जावलाखेलको सदर चिडियाखानामा पनि बर्ड फ्लु पुष्टि भएपछि चिडियाखाना अस्थायी रूपमा बन्द गरिएको छ।
विभागले कुखुरा तथा अन्य पक्षीपालन व्यवसायीलाई जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, कुनै असामान्य मृत्यु वा रोगको लक्षण देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ। संक्रमण नियन्त्रण तथा निगरानीका लागि प्रभावित क्षेत्रमा आवश्यक कदम चालिएको विभागले जनाएको छ।

















