Logo

१० असार, चितवन । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनबाट पार्टी संस्थापक रवि लामिछाने पुनः केन्द्रीय सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । लामिछाने निर्विरोध चुनिएलगत्तै रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मध्यराति सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै पार्टी र सभापतिलाई शुभकामना दिएका छन् ।

महाधिवेशनको बन्दसत्रका क्रममा सोमबार प्रधानमन्त्री बालेनकै प्रस्तावमा लामिछानेले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । उक्त पदमा अन्य कसैको पनि उम्मेदवारी नपरेपछि रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

पार्टी प्रमुखमा लामिछाने पुनः सर्वसम्मत चुनिएपछि खुसी व्यक्त गर्दै वरिष्ठ नेता बालेनले मध्यराति आफ्नो आधिकारिक सामाजिक सञ्जालमा आफू र रविको एउटा जीवन्त स्केच चित्र (रेखाचित्र) पोस्ट गरेका छन् । उक्त तस्बिरसँगै उनले रोमन नेपालीमा लेखेका छन्, ‘शुभकामना हाम्रो पार्टीलाई । सबै जना सफल हुनुस् । देशलाई सफल बनाउनुस्।’

रास्वपाको परिमार्जित विधानको विशेष व्यवस्थाअनुसार पार्टीको सर्वोच्च पद ‘सभापति’ र ‘वरिष्ठ नेता’ का लागि उम्मेदवार बन्न पहिले केन्द्रीय सदस्य पदमा निर्वाचित भइरहनु पर्दैन । सोही प्रावधान अनुरूप लामिछाने सिधै केन्द्रीय सभापतिमा निर्विरोध हुन सफल भएका हुन् ।

शीर्ष नेतृत्व सर्वसम्मत टुङ्गिए पनि रास्वपा केन्द्रीय समितिका बाँकी अन्य पदहरूका लागि भने आज (बुधबार) निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिका अनुसार पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि मतदान प्रक्रिया अगाडि बढाइनेछ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले मतदान सुरु हुने निश्चित समय स्पष्ट नखुलाए पनि आन्तरिक तयारी तीव्र पारिएको जनाएको छ । निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार डिजिटल प्रणाली (विद्युतीय मतपेटिका) मार्फत मतदान गराइने भएकाले मतदान कार्य सम्पन्न भएको ठीक दुई घण्टाभित्रै अन्तिम मतपरिणाम घोषणा गरिनेछ ।


सम्बन्धित समाचार
भर्खरै