Logo

१८ असार,वीरगञ्ज । यातायात व्यवस्था कार्यालय, वीरगञ्जमा मोटरसाइकलको नामसारी गराउन पुगेका एक सेवाग्राही प्रहरी नियन्त्रणमा परेका छन्।

वीरगञ्ज महानगरपालिका–१२ निवासी रामकुमार धानुकले आफूले खरिद गरेको मोटरसाइकलको नामसारी गराउन कार्यालय पुगेका थिए। उनले नागरिकताको प्रतिलिपि, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा नागरिक एपमा रहेका कागजातका आधारमा नामसारी प्रक्रिया अघि बढाइदिन कर्मचारीसँग अनुरोध गरेका थिए।

नामसारी प्रक्रिया अघि बढाउने क्रममा फाँट प्रमुख प्रेम कार्कीसँग विवाद भएपछि कार्यालयले प्रहरी बोलाएको बताइएको छ। धानुकले गोपाल बस्नेतको नाममा रहेको मोटरसाइकल आफूले खरिद गरेको र आवश्यक कागजात उपलब्ध गराएको दाबी गरेका छन्। तर कार्यालयले आवश्यक प्रक्रिया पूरा नभएको भन्दै नामसारी गर्न नमानेपछि विवाद भएको स्रोतले जनाएको छ।

विवादपछि प्रहरी पुगेर धानुकलाई नियन्त्रणमा लिएको थियो। स्रोतका अनुसार उनलाई राति सहमतिमा छाड्ने प्रयास सफल नभएपछि प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो।

वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक नवीन थापामगरका अनुसार यातायात कार्यालयमा सेवाग्राहीले होहल्ला गरी अन्य सेवाग्राहीलाई समेत काम गर्न असहज वातावरण सिर्जना गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो। उनीमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै