Logo

असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले नयाँ नेतृत्व पाएको छ ।

नेपाल सरकारका पूर्व सचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापाले आयोगको अध्यक्षका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका सहकुलपति एवं मन्त्री सस्मित पोखरेलले नवनियुक्त अध्यक्ष थापालाई शपथ खुवाउनुभएको हो ।

प्रधानमन्त्री एवं त्रिविका कुलपति बालेन शाहको निर्णयबाट नियुक्त हुनुभएका थापाको आगमनसँगै आयोगको कार्यशैलीमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ । सोही अवसरमा अध्यक्ष थापाले आयोगकी नवनियुक्त सदस्य प्रा। डा। रेजिना मास्केलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

शपथ ग्रहणपछि आफ्नो जिम्मेवारीप्रति स्पष्ट रहँदै अध्यक्ष थापाले त्रिवि सेवा आयोगको गरिमा उँचो राख्न आफू निर्भिक, निष्पक्ष र इमानदार भएर कार्य गर्ने अठोट व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरूको वृत्ति विकास र पेसागत दक्षता अभिवृद्धि गर्नुका साथै त्रिविको संस्थागत सुदृढीकरण आफ्नो प्राथमिकतामा रहने प्रतिबद्धता जनाउनुभएको छ ।

योजना निर्माणमा विशिष्ट अनुभव सँगाल्नुभएका थापाको नेतृत्वले त्रिविको प्रशासनिक सुधार र सेवा आयोगको विश्वसनीयता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।


सम्बन्धित समाचार
भर्खरै