Logo

१८ असार, काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा बिहीबार एक भयानक सडक दुर्घटना भएको छ ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई करिब ६०० देखि ७०० मिटर तल कर्णाली नदीको खोँचमा खसेको छ । बिहान ११ः३० बजेतिर भएको यस दुर्घटनापछि अहिले घटनास्थलमा सशस्त्र प्रहरी बल, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस र स्थानीय प्रहरी चौकी पाल्तडाबाट संयुक्त उद्धार टोली परिचालन गरिएको छ।

दुर्घटनास्थलको कठिन भौगोलिक अवस्थाका बीच सुरक्षाकर्मीहरूले भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला पारेका छन् । प्रहरीका अनुसार उक्त शवलाई सुरक्षित रूपमा सडकतर्फ ल्याउने प्रयास भइरहेको छ ।

गाडीमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण अझै प्राप्त भइनसकेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। गाडी नदीको गहिरो खोँचमा खसेकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ। अहिले सुरक्षाकर्मीहरूले अन्य यात्रुहरूको खोजी कार्यलाई तीव्रता दिएका छन् ।


सम्बन्धित समाचार
भर्खरै