२४ असार, सिरहा । काठ उद्योगको फाइल रुजु गरी फिर्ता दिने बहानामा सेवाग्राहीसँग घुस लिँदै गरेका सिरहाको सब-डिभिजन वन कार्यालय, बन्दीपुरका प्रमुख (अधिकृत आठौँ) राम केवल राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात नियन्त्रणमा लिएको छ ।
उद्योगका लागि ल्याइएको काठहरूको सिलबन्दी अनुसार भए–नभएको प्राविधिक जाँच (रुजु) गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा वन अधिकृत यादवले सेवाग्राहीलाई अनेक बहानामा दुःख हैरानी दिँदै घुस रकम माग गरेको उजुरी अख्तियारमा परेको थियो ।
सेवाग्राहीको उजुरी र सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, बर्दिवासबाट खटिएको विशेष स्ट्रिङ अपरेसन टोलीले यादवलाई पिछा गरेको थियो। टोलीले उनलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस रकम बुझिसकेको अवस्थामा सिरहाको कर्जन्हा नगरपालिका वडा नं. ४ स्थित मिर्चैया–बन्दीपुर सडक खण्डबाटै रङ्गेहात नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका वन अधिकृत यादवको तत्कालै शारीरिक खानतलासी गर्दा उनको साथबाट शङ्कास्पद रकम बरामद भएको छ । अख्तियार टोलीले उनको साथबाट घुसबापतको १२ हजार रुपैयाँ त फेला पार्यो नै, साथै बैंकिङ वा वैधानिक स्रोत नखुलेको थप १ लाख ३३ हजार १२० रुपैयाँ नगदसमेत बरामद गर्यो ।
उनको साथबाट जम्मा १ लाख ४५ हजार १२० रुपैयाँ नगद र कार्यलयीय प्रयोजनमा प्रयोग हुने एक थान मोबाइल फोन जफत गरिएको छ। घुस रकमबाहेक फेला परेको ठुलो परिमाणको नगद उनले अन्य सेवाग्राहीहरूबाट असुल गरेको हुन सक्ने अख्तियारको अनुमान छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका अधिकृत यादवलाई हिरासतमा राखी भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ। उनको साथबाट बरामद वित्तीय प्रमाण र स्रोत नखुलेको रकमबारे थप सुक्ष्म अनुसन्धान अगाडि बढाइएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।



















