Logo

२४ असार, काठमाडौँ । रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा तीनवटा व्यावसायिक तेल ट्याङ्करमाथि भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि सैन्य कारबाही सुरु गरेको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले मंगलबार इरानका दर्जनौँ सैन्य लक्ष्यहरूलाई निशाना बनाउँदै ८० भन्दा बढी स्थानमा हवाई आक्रमण भएको पुष्टि गरेको हो ।

यस सैन्य भिडन्तसँगै गत महिना मात्र दुई देशबिच परमाणु तथा सुरक्षा मुद्दासहित तेल प्रतिबन्ध खुकुलो पार्ने गरी भएको ऐतिहासिक समझदारी सम्झौतासमेत पूर्ण रूपमा भङ्ग भएको छ ।

सेन्टकमले जारी गरेको विज्ञप्तिअनुसार हवाई आक्रमणमा मुख्य गरी इरानको विशेष सैन्य दस्ता ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) लाई लक्षित गरिएको छ । होर्मुज क्षेत्रमा रहेका आईआरजीसीका ६० भन्दा बढी साना लडाकु डुङ्गा, अत्याधुनिक क्षेप्यास्त्र प्रक्षेपण स्थल (मिसाइल लन्चिङ प्याड) तथा सैन्य कमाण्ड एण्ड कन्ट्रोल केन्द्रहरूलाई अमेरिकी रैपिड फाइटर जेटहरूले ध्वस्त पारिदिएका छन् ।

इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी लडाकु विमानहरूले केश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा बमबारी गरेका थिए । आक्रमणका क्रममा भएका शक्तिशाली विस्फोटका छर्रा लागेर केही इरानी सर्वसाधारणसमेत घाइते भएको दाबी तेहरानले गरेको छ ।

यसअघि, तेल ट्याङ्करमाथिको आक्रमणलगत्तै अमेरिकी अर्थमन्त्रालयले इरानमाथिको तेल प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाउने यसअघिको व्यवस्था रद्द गरिसकेको छ । वासिङ्टनले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दाेष नागरिकले सञ्चालन गरिरहेका व्यावसायिक जहाजमाथिको आक्रमणलाई पूर्ण रूपमा अस्वीकार्य भन्दै इरानले यसको ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ। यद्यपि, इरानले ट्याङ्कर आक्रमणको जिम्मेवारी औपचारिक रूपमा स्वीकार गरेको छैन ।

उता इरानका उपविदेशमन्त्रीले अमेरिकी सैन्य कारबाही र प्रतिबन्ध ब्युँताउने निर्णय गत महिना भएको द्विपक्षीय समझदारीको ठाडो उल्लङ्घन भएको टिप्पणी गरेका छन् । उनले वासिङ्टनको यो व्यवहारलाई ‘अविश्वसनीय र असङ्गत’ को संज्ञा दिँदै तेहरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न जुनसुकै बेला ‘निर्णायक कदम’ चाल्ने चेतावनी दिएका छन् ।

भूपरिवेष्ठित खाडी क्षेत्रमा युद्धको बादल मडारिए पनि अमेरिकी अधिकारीहरूले भने अन्तिम सम्झौताका लागि इरानसँगको कूटनीतिक च्यानल पूर्ण रूपमा बन्द नभएको सङ्केत गरेका छन् । वासिङ्टनका एक उच्च अधिकारीका अनुसार अमेरिकाले सैन्य जवाफ दिए पनि इरानसँग सद्भावपूर्वक कूटनीतिक वार्तालाई अगाडि बढाउने नीति अझै कायम राखेको छ । तथापि, पछिल्लो आक्रमणले मध्यपूर्वको भूराजनीति र विश्वव्यापी तेल आपूर्ति प्रणालीमा भने हलचल पैदा गरिदिएको छ ।


सम्बन्धित समाचार