Logo

२३ असार, चितवन । चितवनको भरतपुर १० स्थित वैष्णव रेष्टुरेन्टमा खाद्य स्वच्छतासम्बन्धी समस्या देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले तत्कालका लागि रेष्टुरेन्ट बन्द गराएको छ।

रेष्टुरेन्टमा खाना खान पुगेका एक सेवाग्राहीले आफूले अर्डर गरेको खानाको परिकारमा प्रयोग गरिएको सागमा शंखेकिरा भेटिएको जानकारी प्रशासनलाई गराएपछि अनुगमन गरिएको थियो। गुनासो प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले रेष्टुरेन्टमा पुगेर खाद्य सामग्री, सरसफाइ तथा प्रयोग भइरहेका सामग्रीको अवस्थाबारे निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा रेष्टुरेन्टमा प्रयोग भइरहेको तेलको गुणस्तरसमेत कमजोर देखिएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले जानकारी दिनुभयो।

उहाँका अनुसार रेष्टुरेन्टलाई तत्कालका लागि बन्द गरिएको छ। आवश्यक सुधार गर्ने प्रतिबद्धता, तोकिएको जरिवाना बुझाउने र खाद्य सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेपछि मात्रै पुनः सञ्चालनको अनुमति दिइनेछ।

वैष्णव रेष्टुरेन्ट चितवनमा शुद्ध शाकाहारी खानाका लागि परिचित रेष्टुरेन्टका रूपमा स्थापित छ। भरतपुर तथा नारायणगढ आसपास क्षेत्रमा शाखा विस्तार गर्दै सेवा दिँदै आएको यो रेष्टुरेन्टमा दैनिक ठूलो संख्यामा ग्राहकहरू पुग्ने गरेका छन्।

तर खाद्य व्यवसायमा सानो लापरबाहीले पनि उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले व्यवसायीले खाद्य सामग्रीको छनोट, भण्डारण, पकाउने प्रक्रिया र सरसफाइमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। दूषित वा गुणस्तरहीन खाद्य पदार्थ सेवन गर्दा पेटसम्बन्धी समस्या, संक्रमण तथा अन्य स्वास्थ्य जोखिम निम्तिन सक्ने चिकित्सकहरू बताउँछन्।

प्रशासनले खाद्य स्वच्छता र गुणस्तरमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न आग्रह गरेको छ।

रेष्टुरेन्ट सञ्चालकहरूले पनि नियमित सरसफाइ, खाद्य सामग्रीको गुणस्तर परीक्षण र कर्मचारीको स्वास्थ्य सुरक्षामा ध्यान दिन सके उपभोक्ताको विश्वास कायम राख्न सहयोग पुग्ने देखिन्छ। वैष्णवजस्तो लामो समयदेखि ग्राहकको विश्वास जित्दै आएको व्यवसायमा देखिएको यस्तो घटनाले खाद्य गुणस्तरप्रति थप सचेत हुनुपर्ने सन्देश दिएको छ।


सम्बन्धित समाचार