Logo

२३ असार,वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिकामा रूखको हाँगा काट्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार सुवर्ण गाउँपालिका–२, सनफुलवास्थित शिवधारी पण्डितको जग्गामा रहेको पकडको रूख काट्ने क्रममा सुवर्ण गाउँपालिका–१, रामटोल निवासी ५५ वर्षीय जोखन महराको घटनास्थलमै मृत्यु भएको हो।

उक्त रूख सुवर्ण गाउँपालिका–७ निवासी बाबुलाल यादवले खरिद गरेका थिए। सोही क्रममा महराले रूखको हाँगा काटिरहेका बेला अर्को हाँगा खस्दा उनी च्यापिएको प्रहरीले जनाएको छ।

घटनाबारे बिहान करिब ९ बजे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कवहीगोठबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा सोको (SOCO) टोली परिचालन गरी घटनास्थलको मुचुल्का तयार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार