२३ असार,काठमाडौं । विश्वप्रसिद्ध सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले करिब ४ हजार ८०० कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो कम्पनीको कुल कार्यबलको करिब २.१ प्रतिशत हो।
बीबीसीका अनुसार पुनर्संरचनाअन्तर्गत सबैभन्दा बढी असर माइक्रोसफ्टको ‘एक्सबक्स’ विभागमा पर्नेछ। उक्त विभागबाट मात्रै १ हजार ६०० भन्दा बढी कर्मचारीको रोजगारी तत्काल कटौती गरिने जनाइएको छ।
कर्मचारीहरूलाई पठाइएको सन्देशमा माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष एमी कोलम्यानले तीव्र गतिमा परिवर्तन भइरहेको सूचना प्रविधि क्षेत्रमा ग्राहकलाई थप मूल्य प्रदान गर्न सकिने क्षेत्रमा कम्पनीले आफ्नो ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताएकी छन्।
यस्तै, हालै एक्सबक्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएकी आशा शर्माले कर्मचारीहरूलाई सम्बोधन गर्दै कम्पनीको इतिहासकै सबैभन्दा ठूलो पुनर्संरचना प्रक्रिया सुरु गरिएको जानकारी दिएकी छन्।
उनले यी परिवर्तनहरू एक्सबक्सलाई सानो बनाउने उद्देश्यले नभई भविष्यका चुनौती र अवसरलाई ध्यानमा राख्दै कम्पनीलाई थप बलियो र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ गरिएको स्पष्ट पारेकी छन्।



















