२३ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ देखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो । विदेशी मुद्रा खरिदका माध्यमबाट हुने तरलता प्रवाहलाई थप सहज र व्यवस्थित बनाउने उद्देश्यका साथ केन्द्रीय बैंकले बैंकहरूलाई यस्तो लगानीका लागि प्रोत्साहित गर्ने नीति लिएको छ ।
यसका साथै, तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउन केन्द्रीय बैंकले ‘स्टेरिलाइज्ड इन्टरभेन्सन’ नामक नयाँ औजार प्रयोगमा ल्याउने निर्णय गरेको छ । स्टेरिलाइज्ड इन्टरभेन्सन भनेको विनिमय दरमा स्थायित्व कायम गर्दै बजारमा मुद्रा आपूर्तिलाई नियन्त्रणमा राख्ने एक विधि हो ।
स्वदेशी मुद्राको अधिक आपूर्ति हुँदा महँगी बढ्ने जोखिमलाई न्यूनीकरण गर्न केन्द्रीय बैंकले बजारबाट स्वदेशी मुद्रा खिच्न र त्यसको सट्टामा विदेशी मुद्रा भुक्तानी दिने वा सरकारी ऋणपत्रको प्रयोग गर्ने जस्ता अभ्यासहरू अपनाउने गरेको छ । हाल विदेशी मुद्राको सञ्चिति पर्याप्त रहेकाले यो औजारमार्फत तरलता व्यवस्थापनमा सहज हुने राष्ट्र बैंकको अपेक्षा छ ।



















