Logo

सांकेतिक तस्वीर

२३ असार,काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मधेश र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ। विभागका अनुसार मनसुनी प्रणाली सक्रिय रहे पनि हालको वर्षा मुख्यतः पहाडी भूभागमा केन्द्रित भएको छ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ सरदर स्थानकै आसपास रहेकाले वर्षाको वितरण असमान देखिएको हो।

उनले पूर्वानुमान गरिएजस्तो वर्षा नभए पनि देशका अधिकांश पहाडी क्षेत्रमा मध्यम वर्षा भइरहेको जानकारी दिए। हाल लुम्बिनी प्रदेशको उत्तरी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको उनले बताए।

विभागका अनुसार मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी दिनमा वर्षाको गतिविधि थप विस्तार हुने सम्भावना छ। विशेषगरी पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

तीन दिने मौसम पूर्वानुमानअनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

लुम्बिनी र सुदूरपश्चिमका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बहाव, पहिरो र सहरी डुबानको जोखिम रहने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ।

यस्तै, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतास चल्ने सम्भावना रहेकाले कमजोर संरचना, कृषि बाली तथा विद्युत् र सञ्चार सेवामा असर पर्न सक्ने चेतावनी दिइएको छ।

विभागका अनुसार आज राति पनि देशका हिमाली क्षेत्रमा धेरै स्थान तथा पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका पहाडी र तराईका धेरै स्थान, मधेश प्रदेशका धेरै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विभागले आगामी केही दिन मनसुनी गतिविधि कायम रहने जनाउँदै मौसमसम्बन्धी अद्यावधिक सूचना पछ्याउन तथा सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।


सम्बन्धित समाचार
भर्खरै