२३ असार,वीरगञ्ज । सेवाग्राहीमाथि कार्यालय परिसरमै कुटपिट गरेको आरोपमा यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्य पक्राउ परेका छन् ।
घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय बाराले आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुवँरले भिडिओ सार्वजनिक भएपछि घटनाको वास्तविकता बुझ्न आचार्यलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
प्रहरीका अनुसार कार्यालय प्रमुखको कार्यकक्ष बाहिर एक सेवाग्राहीसँग विवाद बढेपछि दुवै पक्षबीच हातपात भएको थियो । सार्वजनिक भएको भिडिओ गत १७ मार्च २०२६ (फागुन तेस्रो साता) को रहेको बताइएको छ ।
निमित्त कार्यालय प्रमुख आचार्यले घटनामा संलग्न सेवाग्राही अरुण कुशवाहा रहेको दाबी गरेका छन् । उनका अनुसार कुशवाहा आफू पत्रकार भएको परिचय दिँदै श्रीमती र सालीको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी कामका लागि कार्यालय आएका थिए ।
आचार्यले कार्यालयका कर्मचारीसँग कुशवाहाले धाकधम्की र गालीगलौज गरेपछि विवाद उत्पन्न भएको र सोही क्रममा हातपात भएको दाबी गरेका छन् ।
यातायात व्यवस्था कार्यालय बारा परिसरमा सेवाग्राहीमाथि कार्यालय प्रमुखसहित कर्मचारीहरूले कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत घटनाप्रति चासो देखाएको छ ।
प्रारम्भिक जानकारीअनुसार विवाद घटनाकै समयमा मिलाइएको भए पनि भिडिओ गत शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।



















