Logo

२५ असार, काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई तानातान र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको जडीबुटी क्षेत्रबाट ३२ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।

उपत्यकाबाट पूर्वतर्फ जाने सवारी साधनमा चढ्ने यात्रुहरूलाई गन्तव्यमा पुर्‍याइदिने बहानामा हैरानी दिने र महिला यात्रुहरूलाई दुर्व्यवहार गर्ने गरेको गुनासो बढेपछि प्रहरीले कारबाही थालेको हो ।

जडीबुटीस्थित अरनिको यातायातको बसपार्क क्षेत्रमा सक्रिय रहेका ती बिचौलियाहरूले यात्रुको झोला तानेर जबर्जस्ती बसमा चढाउन खोज्ने र अस्वाभाविक व्यवहार देखाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार, पक्राउ परेकाहरूको आपराधिक रेकर्ड (सिआरएस) जाँच गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

ट्राफिक व्यवस्थापन र यात्रुको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले उपत्यकाका विभिन्न क्षेत्रमा बिचौलिया विरुद्धको अभियानलाई तीव्र बनाएको छ। यसअघि बुधबार मात्रै काठमाडौँको बल्खु क्षेत्रबाट पनि १७ जना बिचौलियालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

उपत्यकाको सार्वजनिक यातायात क्षेत्रमा सक्रिय यस्ता बिचौलियाहरूको सक्रियताले यात्रुहरू असुरक्षित महसुस गरिरहेका बेला प्रहरीको यो पछिल्लो कारबाहीलाई सकारात्मक रूपमा लिइएको छ ।


सम्बन्धित समाचार