२९ असार,वीरगञ्ज । बारा जिल्लाको कलैया उपमहानगरपालिका–११ घोघरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ।
मंगलबार साँझ करिब ६:३० बजे स्थानीय सन्तोष पासवानकी ६ वर्षीया छोरी राधिका कुमारी पासवान नुहाउने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, कलैया लगिएको थियो।
अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा साँझ ७:१० बजे बालिकालाई मृत घोषणा गरेका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्क, बाराबाट प्रहरी नायब निरीक्षक विमलेश यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। साथै घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको नेतृत्वमा SOCO सहितको मुचुल्का टोली पनि परिचालन गरिएको प्रहरीले जनाएको छ।
मृतक बालिकाको शव हाल प्रादेशिक अस्पताल, कलैयामै राखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



















