Logo

 २९ असार,काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको अतिक्रमित जग्गामा निर्माण गरिएका संरचना सोमबारदेखि भत्काउन सुरु गरिएको छ। अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा बिहानैदेखि डोजर परिचालन गरिएको हो।

संरचना हटाउने क्रममा कुनै अवरोध हुन नदिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। अस्पतालको जग्गामा विभिन्न सङ्घ–संस्थाले व्यावसायिक प्रयोजनका लागि स्थायी भवन निर्माण गरी तेस्रो पक्षलाई भाडामा समेत दिँदै आएका थिए।

अस्पतालका अनुसार नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले अस्पतालको जग्गा प्रयोग गर्दै संरचना निर्माण गरेका थिए। तीमध्ये केही संस्थाले ३० भन्दा बढी सटर औषधि पसल, चिकित्सक तथा अन्य व्यवसायीलाई भाडामा दिएका थिए।

अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि लामो समयदेखि ती संरचना हटाउन पहल गर्दै आएको थियो। गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले स्थलगत अनुगमनका क्रममा संरचना खाली गराउन निर्देशन दिएपछि अस्पताल प्रशासनले सात दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो। उक्त म्याद सोमबार सकिएसँगै डोजर परिचालन गरिएको हो।

अस्पतालको अभिलेखअनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर तथा नेपाल रेडक्रस सोसाइटीले करिब २ कट्ठा जग्गा वर्षौंदेखि प्रयोग गर्दै आएका थिए। गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडक मोहडामा सटर निर्माण गरी व्यावसायिक प्रयोजनमा प्रयोग गरिरहेका थिए।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले अतिक्रमित सबै संरचना हटाएर अस्पतालको सेवा विस्तार तथा संस्थागत प्रयोजनका लागि जग्गा उपयोग गरिने बताउनुभयो। उहाँका अनुसार अतिक्रमण हटेपछि अस्पतालले आफ्नो सम्पत्तिको पूर्ण रूपमा उपयोग गर्न सक्नेछ।

यद्यपि, अस्पतालको जग्गामा सञ्चालनमा रहेका नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार सेवा तथा नेपाल क्षयरोग निवारण संस्थाको सेवा प्रभावित हुने अवस्था सिर्जना भएको छ।


सम्बन्धित समाचार