श्रीमद्भगवद्गीता मानव सभ्यताको इतिहासमा रचिएका उत्कृष्ट दार्शनिक ग्रन्थहरूमध्ये एक हो। करिब पाँच हजार वर्षअघि महाभारत युद्धभूमिमा भगवान् श्रीकृष्ण र अर्जुनबीच भएको संवादका रूपमा प्रकट भएको यो ग्रन्थ कुनै एक धर्म वा सम्प्रदायको धार्मिक पुस्तक मात्र होइन, मानव जीवनलाई सही, शान्त, सुखी र अर्थपूर्ण बनाउने सार्वभौमिक ज्ञानको स्रोत पनि हो। दर्शन, मनोविज्ञान, विज्ञान, नेतृत्व, व्यवस्थापन तथा सामाजिक जीवनका विविध पक्षमा भगवद्गीताको अध्ययन र अनुसन्धान आज पनि निरन्तर भइरहेको छ। समय परिवर्तन भए पनि यसका सिद्धान्तहरूको सान्दर्भिकता भने अझै उस्तै बलियो छ।
भगवद्गीताको पाँचौँ अध्यायका प्रारम्भिक तीन श्लोक विशेषगरी नेतृत्व, व्यवस्थापन र कार्यसंस्कृतिका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छन्। यी श्लोकहरूले केवल आध्यात्मिक जीवनको मार्गदर्शन मात्र गर्दैनन्, संस्थागत नेतृत्व, कर्मचारी व्यवस्थापन र व्यावसायिक नैतिकताका लागि पनि गहिरो सन्देश दिन्छन्।
महाभारत युद्ध प्रारम्भ हुनै लाग्दा अर्जुन आफ्नै आफन्त, गुरु र बन्धुबान्धवविरुद्ध युद्ध गर्नुपर्ने अवस्थाले गहिरो मानसिक द्वन्द्वमा पर्छन्। धर्म के हो र आफ्नो कर्तव्य के हो भन्ने अन्योलमा परेका अर्जुनले भगवान् श्रीकृष्णसँग प्रश्न गर्छन्—
“संन्यासं कर्मणां कृष्ण पुनर्योगं च शंससि।
यच्छ्रेय एतयोरेकं तन्मे ब्रूहि सुनिश्चितम्॥”
अर्थात्, “हे कृष्ण ! तपाईं कहिले कर्मको संन्यासको प्रशंसा गर्नुहुन्छ, कहिले कर्मयोगको। यी दुईमध्ये मेरो लागि सबैभन्दा कल्याणकारी मार्ग कुन हो, कृपया स्पष्ट रूपमा बताइदिनुहोस्।”
अर्जुनको यो प्रश्न केवल युद्धभूमिको प्रश्न होइन। जीवनका विभिन्न मोडमा मानिसले भोग्ने निर्णयको द्विविधाको प्रतिनिधित्व पनि हो। जब जिम्मेवारी, सम्बन्ध र नैतिकताको बीचमा छनोट गर्नुपर्ने अवस्था आउँछ, त्यतिबेला प्रत्येक व्यक्तिले अर्जुनकै जस्तो प्रश्न आफूभित्र उठाइरहेको हुन्छ।
अर्जुनको प्रश्नको उत्तरमा भगवान् श्रीकृष्ण भन्नुहुन्छ—
“संन्यासः कर्मयोगश्च निःश्रेयसकरावुभौ।
तयोस्तु कर्मसंन्यासात्कर्मयोगो विशिष्यते॥”
यसको भावार्थ अनुसार कर्मसंन्यास र कर्मयोग दुवै कल्याणकारी मार्ग हुन्, तर कर्म त्यागभन्दा आफ्नो कर्तव्य निष्काम भावले निरन्तर गर्दै जानु अर्थात् कर्मयोग नै श्रेष्ठ हो।
त्यसपछि अर्को श्लोकमा श्रीकृष्णले वास्तविक संन्यासीको परिभाषा दिँदै भन्नुहुन्छ—
“ज्ञेयः स नित्यसंन्यासी यो न द्वेष्टि न काङ्क्षति।
निर्द्वन्द्वो हि महाबाहो सुखं बन्धात्प्रमुच्यते॥”
अर्थात्, जो व्यक्ति कसैप्रति द्वेष राख्दैन र कुनै वस्तु, पद वा प्रतिष्ठाप्रति अत्यधिक मोह पनि राख्दैन, त्यही वास्तविक संन्यासी हो। यस्तो व्यक्तिले जीवनका द्वन्द्वहरू पार गर्दै बन्धनबाट मुक्ति प्राप्त गर्न सक्छ।
हाम्रो समाजमा संन्यास भन्नासाथ घरपरिवार त्यागेर वन–जङ्गल वा आश्रममा बस्ने, तपस्या गर्ने र सांसारिक जीवनबाट पूर्ण रूपमा अलग रहने अवस्थालाई बुझ्ने चलन छ। तर भगवद्गीताले संन्यासलाई फरक दृष्टिले व्याख्या गरेको छ। यसको वास्तविक अर्थ बाह्य जीवनको त्याग होइन, मनभित्रको मोह, लोभ, अहङ्कार, स्वार्थ र अत्यधिक आसक्तिको त्याग हो। संसारका सम्पूर्ण जिम्मेवारी निर्वाह गर्दै पनि पद, प्रतिष्ठा, सम्पत्ति वा व्यक्तिगत लाभप्रति अत्यधिक आसक्त नहुनु नै सच्चा संन्यास हो।
यस अर्थमा गृहस्थ जीवन बिताउने व्यक्ति पनि वास्तविक संन्यासी हुन सक्छ। भगवान् महादेव यसको उत्कृष्ट उदाहरण मानिन्छन्। उहाँले विवाह गर्नुभयो, परिवारको दायित्व निर्वाह गर्नुभयो र गृहस्थ धर्म पूरा गर्नुभयो। तर कुनै पनि सांसारिक वस्तु वा प्रतिष्ठाप्रति मोह राख्नुभएन। कर्तव्यप्रति समर्पित रहँदै मोहबाट मुक्त जीवन बिताएकाले उहाँलाई गृहस्थ संन्यासीका रूपमा पनि स्मरण गरिन्छ।
भगवद्गीताको यही कर्मयोगको सिद्धान्त आधुनिक व्यवस्थापनका लागि पनि अत्यन्त उपयोगी देखिन्छ। कुनै पनि संस्थामा कार्यरत कर्मचारी वा व्यवस्थापकले आफ्नो कर्तव्य इमानदारी, अनुशासन र समर्पणका साथ निर्वाह गर्नु नै सफल व्यवस्थापनको आधार हो। कर्मचारीको ध्यान मुख्यतः कार्यसम्पादन, सीप विकास, व्यावसायिक दक्षता र संस्थाको समग्र प्रगतिमा केन्द्रित हुनुपर्छ। तलब, बोनस, पदोन्नति, भत्ता, स्थानान्तरण वा प्रतिष्ठाजस्ता विषय महत्त्वपूर्ण भए पनि तीप्रति अत्यधिक मोह वा लोभले कार्यसम्पादनमा नकारात्मक असर पार्न सक्छ। यसको अर्थ प्रतिफलको अपेक्षा गर्नु अनुचित हो भन्ने होइन, तर प्रतिफलप्रतिको अत्यधिक आसक्तिले कर्तव्यबोधलाई कमजोर बनाउन सक्छ भन्ने सन्देश भगवद्गीताले दिन्छ।
आजका धेरै व्यवस्थापन सिद्धान्तहरूले पनि कर्मचारीको उत्प्रेरणा, कार्यसन्तुष्टि र संगठनप्रतिको प्रतिबद्धतालाई महत्त्व दिएका छन्। अपेक्षाअनुसार प्रतिफल प्राप्त नभए कर्मचारी निरुत्साहित हुने, संस्थाप्रति नकारात्मक धारणा विकास गर्ने वा कार्यक्षमता घट्ने अवस्था सिर्जना हुन सक्छ। यस्तो परिस्थितिमा भगवद्गीताले परिणामभन्दा कर्तव्यप्रति निष्ठावान रहन, इमानदार कार्यसम्पादन गर्न र अत्यधिक लोभ तथा मोहबाट मुक्त रहन प्रेरणा दिन्छ।
नेतृत्वका दृष्टिले पनि कर्मयोगको सिद्धान्त अत्यन्त महत्वपूर्ण छ। संन्यासयुक्त कर्मयोगको मूल भावना राग, द्वेष, लोभ, स्वार्थ, अहङ्कार र अनावश्यक आसक्ति त्याग्दै संगठन र समाजको हितलाई प्राथमिकता दिनु हो। यस्ता गुण भएका व्यवस्थापक वा कर्मचारीले व्यक्तिगत लाभभन्दा संस्थाको दीर्घकालीन हितलाई महत्व दिन्छन्। उनीहरू पारदर्शी, जिम्मेवार र नैतिक निर्णय गर्न सक्षम हुन्छन्।
यसको विपरीत, नेतृत्व लोभ, पदलोलुपता, पक्षपात, अहङ्कार वा व्यक्तिगत स्वार्थबाट निर्देशित भयो भने संस्थामा भ्रष्टाचार, पदको दुरुपयोग, अनैतिक निर्णय र अव्यावसायिक संस्कृतिले स्थान पाउन थाल्छ। यसले व्यवस्थापकको नैतिक चरित्र मात्र कमजोर बनाउँदैन, संगठनको समग्र कार्यसम्पादन र सार्वजनिक विश्वाससमेत कमजोर बनाउँछ।
भगवद्गीताले प्रतिपादन गरेको निष्काम कर्मयोगले कर्मचारी र व्यवस्थापकलाई ईर्ष्या, द्वेष, भ्रष्टाचार, अत्यधिक लोभ तथा स्वार्थपरक प्रवृत्तिबाट मुक्त भएर आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्न प्रेरित गर्दछ। यस्तो कार्यसंस्कृतिले व्यक्तिगत क्षमता, व्यावसायिक दक्षता र नैतिक चरित्रको विकास गर्नुका साथै संगठनभित्र विश्वास, सहकार्य, पारदर्शिता र उत्तरदायित्वको संस्कृतिलाई समेत बलियो बनाउँछ। परिणामस्वरूप संस्था र कर्मचारी दुवैको समानान्तर विकास सम्भव हुन्छ।
मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा पनि यस्तो कार्यसंस्कृतिले संगठनभित्र मनोवैज्ञानिक पूँजी (Psychological Capital) को विकासमा सकारात्मक योगदान पुर्याउँछ। आशा (Hope), आत्मविश्वास (Self-efficacy), लचकता (Resilience) र आशावाद (Optimism) जस्ता मनोवैज्ञानिक गुणहरूको विकास हुँदा कर्मचारीको उत्प्रेरणा, कार्यसम्पादन र संगठनप्रतिको प्रतिबद्धता स्वतः बढ्दै जान्छ।
भगवद्गीताको कर्मयोग आधुनिक व्यवस्थापनका सिद्धान्तहरूसँग पनि घनिष्ठ रूपमा मेल खान्छ। फ्रेडरिक विन्स्लो टेलरको वैज्ञानिक व्यवस्थापन सिद्धान्तले कार्यकुशलता, अनुशासन र उत्पादकत्वलाई प्रभावकारी व्यवस्थापनको आधार मानेको छ। त्यसैगरी, अब्राहम मास्लोको आवश्यकता पदानुक्रम सिद्धान्तले व्यक्तिको उच्चतम क्षमता नैतिक, सकारात्मक र अर्थपूर्ण कार्यपरिवेशमा मात्र पूर्ण रूपमा विकास हुन सक्ने उल्लेख गर्छ। जब कर्मचारी र व्यवस्थापकले निष्काम कर्मयोगको भावनाअनुसार कार्य गर्छन्, तब व्यक्तिगत विकाससँगै संगठनको दिगो विकास, सकारात्मक संगठनात्मक संस्कृति र उच्च कार्यसम्पादन सुनिश्चित हुने आधार तयार हुन्छ।
यसरी हेर्दा, भगवद्गीताको पाँचौँ अध्यायका यी श्लोकहरू धार्मिक वा आध्यात्मिक जीवनमा मात्र सीमित छैनन्। आजको प्रतिस्पर्धी, परिणाममुखी र चुनौतीपूर्ण व्यावसायिक संसारमा पनि तिनले उत्तिकै सशक्त मार्गदर्शन प्रदान गर्छन्। कर्मयोगको सिद्धान्तले कर्तव्यलाई प्राथमिकता दिन, नैतिक नेतृत्व विकास गर्न, संगठनभित्र विश्वास र उत्तरदायित्वको संस्कृति निर्माण गर्न तथा व्यक्तिगत र संस्थागत दुवै सफलता हासिल गर्न प्रेरणा दिन्छ। यही कारण भगवद्गीताको यो कालजयी शिक्षा आजको आधुनिक व्यवस्थापन र नेतृत्वका लागि पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी बनेको छ।
(दिपेश कुमार कर्ण हाल मधेश विश्वविद्यालयमा उप-प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ पूर्वाञ्चल विश्वविद्यालयमा दर्शनाचार्य (M.Phil.) तहका अध्येता समेत हुनुहुन्छ।)



















