२ साउन,वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा कुल रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ। यो वार्षिक लक्ष्यको ८९.१९ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षका लागि कार्यालयलाई रु दुई खर्ब ७३ अर्ब ३७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो। लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसके पनि वीरगञ्ज भन्सारले देशकै प्रमुख राजस्व सङ्कलन गर्ने कार्यालयको रूपमा आफ्नो योगदान कायम राखेको छ।
भन्सार विभागले आर्थिक वर्ष २०८२/८३ मा देशभरका भन्सार कार्यालयबाट रु पाँच खर्ब ८८ अर्ब २५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। विभागको कुल लक्ष्यमध्ये वीरगञ्ज भन्सार कार्यालयको हिस्सा ४१.४५ प्रतिशत रहेको छ।
महिनागत रूपमा हेर्दा कार्यालयले साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७४ करोड, असोजमा रु १९ अर्ब ९ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड, मङ्सिरमा रु २० अर्ब ८० करोड, पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुनमा रु १९ अर्ब ३४ करोड, चैतमा रु २२ अर्ब ८२ करोड, वैशाखमा रु २१ अर्ब ७४ करोड, जेठमा रु २२ अर्ब ३२ करोड र असारमा रु २२ अर्ब ४ करोड राजस्व सङ्कलन गरेको जनाएको छ।
वीरगञ्ज भन्सार कार्यालय नेपालको सबैभन्दा ठूलो राजस्व सङ्कलन गर्ने भन्सार कार्यालयमध्ये एक हो। आयात–निर्यात व्यापारको प्रमुख नाका भएकाले यहाँबाट सङ्कलित राजस्वले राष्ट्रिय राजस्वमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।



















