Logo

२ साउन,काठमाडौं । गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ। भूकम्पपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले भेनेजुएलालाई ३४ करोड ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको अधिकारीहरूले जनाएका छन्।

गत जुन २४ मा एक मिनेटको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प गएको थियो। राजधानी काराकासको उत्तरमा रहेको तटीय राज्य ला गुआइरा भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ।

नेसनल एसेम्बलीका प्रमुख जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा परी हालसम्म ५ हजार ६९ जनाको मृत्यु भएको छ। अधिकांश मृतक तटीय क्षेत्रका बासिन्दा रहेको उनले बताए।

भूकम्पबाट १६ हजार ७४० जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार घाइतेमध्ये अधिकांश उपचारपछि अस्पतालबाट घर फर्किसकेका छन्।

भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले पुनर्निर्माण र मानवीय सहायता व्यवस्थापनका लागि आइएमएफबाट ३४ करोड ६० लाख अमेरिकी डलर प्राप्त भएको जानकारी दिइन्।

आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले पनि सहयोग रकम उपलब्ध गराइएको पुष्टि गर्दै तत्काल मानवीय आवश्यकताका लागि भेनेजुएलाको आफ्नै सञ्चित स्रोत (रिजर्भ ट्राञ्च) प्रयोग गर्न सहयोग गरिएको बताइन्।

भूकम्पका कारण करिब २० हजार मानिस घरबारविहीन भएका छन्। उनीहरू अस्थायी शिविरमा बसिरहेका छन्, जहाँ खानेपानी र सरसफाइको पर्याप्त व्यवस्था चुनौती बनेको अधिकारीहरूले बताएका छन्।

भेनेजुएलासँग आइएमएफमा करिब ५ अर्ब १० करोड अमेरिकी डलर बराबरको विशेष आहरण अधिकार (एसडीआर) मौज्दात रहेको छ। निकोलस मादुरोलाई राष्ट्रपति नमानिएको कारण यसअघि उक्त स्रोतको उपयोग रोकिएको थियो।

यस वर्ष जनवरीमा निकोलस मादुरो सत्ताच्युत भएपछि आइएमएफ र विश्व बैंकले अप्रिलमा भेनेजुएलासँगको सहकार्य पुनः सुरु गरेका थिए। सन् २०१९ देखि यी अन्तर्राष्ट्रिय संस्थासँगको सम्बन्ध स्थगित रहेको थियो।


सम्बन्धित समाचार