Logo

२ साउन, (माडी) चितवन । माडी नगरपालिका–६, लक्ष्मीबासस्थित बहुउद्देश्यीय स्रोत केन्द्र (एमपिआरसी) को कार्यालयमा लागेको ताला अझै खुलेको छैन। जेठ २० गते लगाइएको उक्त तालाको विषयमा रेस खबरले जेठ २७ गते पहिलो पटक समाचार प्रकाशित गरेको थियो। तर त्यसपछि पनि केन्द्रबाट प्रवाह हुँदै आएको स्वास्थ्य सेवा नियमित हुन सकेको छैन।

एमपिआरसीको कार्यालय स्वास्थ्य केन्द्रका रूपमा सञ्चालन हुँदै आएको थियो, जहाँ स्थानीय नागरिकले स्वास्थ्य जाँच तथा आधारभूत उपचार सेवा लिँदै आएका थिए। अहिले मुख्य चासोको विषय– केन्द्र किन अझै सञ्चालनमा आउन सकेन, ताला खोल्ने जिम्मेवारी कसको हो र नागरिकले रोकिएको स्वास्थ्य सेवा कहिले पाउँछन् भन्ने बनेको छ।

एमपिआरसीमा लागेको ताला “हेल्पिङ सोसाइटी नेपाल” का अध्यक्ष टिकाराम आचार्यको निर्देशनमा लगाइएको हो। हाल अमेरिकामा रहेका आचार्यले केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी कल्पना महतोलाई अबदेखि काममा नआउन र ताला लगाएर जान निर्देशन दिएको बताइएको छ। सोही निर्देशनपछि महतोले केन्द्रको मूल ढोकामा ताला लगाएर गएको स्वयं स्वास्थ्यकर्मी महतोको भनाइ छ।

ताला लागेको लामो समय बितिसक्दा पनि सम्बन्धित पक्षबीच आवश्यक समन्वय हुन नसक्दा स्वास्थ्य सेवा पुनः सञ्चालन हुन सकेको छैन। एकातर्फ स्वास्थ्य चौकीले केन्द्र सञ्चालनका लागि व्यवस्थापन पक्ष स्पष्ट हुनुपर्ने बताइरहेको छ भने अर्कोतर्फ स्थानीय नागरिक तत्काल सेवा सुरु हुनुपर्ने माग गरिरहेका छन्।

कल्याणपुर स्वास्थ्य चौकीका प्रमुख कृष्णप्रसाद पौडेलले हालसम्म उक्त सेवा केन्द्र सञ्चालनमा आउन नसकेको जानकारी दिनुभयो। उहाँका अनुसार एमपिआरसी ‘हेल्पिङ सोसाइटी नेपाल’ अन्तर्गत सञ्चालन हुँदै आएको र त्यहाँ कार्यरत कर्मचारीले ताला लगाएर गएपछि सेवा रोकिएको हो। “संस्थाको बैठक बसेर केन्द्रमा रहेका सामग्री, औषधि, जिन्सी तथा अन्य सम्पत्तिको लागत विवरण बुझाउनुपर्छ। सार्वजनिक सम्पत्तिको अवस्था स्पष्ट भएपछि मात्रै स्वास्थ्य सेवा सञ्चालनको प्रक्रिया अघि बढाउन सहज हुन्छ,” पौडेलले भन्नुभयो।

यता, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले भने केही समय बन्द रहेको उक्त केन्द्र खुला भइसकेको दाबी गर्नुभएको छ। उहाँले केन्द्र सञ्चालनका लागि निर्देशन दिइसकेको र कल्याणपुर स्वास्थ्य चौकीका प्रमुख गोविन्दप्रसाद पौडेलको मातहतमा रहने गरी सेवा प्रवाह भइसकेको बताउनुभयो।

तर, स्थानीयवासी भने केन्द्र अझै सञ्चालनमा नआएको बताउँछन्। माडी–६ लक्ष्मीबास निवासी ज्ञानु पौडेलका अनुसार दैनिक १५ देखि २० जनासम्म बिरामी स्वास्थ्य सेवा लिन केन्द्रमा आउने गरेका छन्। कोही लौरो टेकेर र कोही अटो चढेर उपचारका लागि आउने गरे पनि बन्द केन्द्रका कारण समस्या भोग्नुपरेको उहाँको भनाइ छ। “म आफैं प्रेसरको बिरामी हुँ। बघौडा अस्पतालमा गएर दैनिक पिसाब जाँच गर्नुपर्ने अवस्था भएपछि कल्याणपुर स्वास्थ्य चौकीमा नियमित जाँच गराउँदै आएको थिएँ। सात दिनसम्म त्यहीँ सेवा लिएँ, नजिकको केन्द्र बन्द भएपछि समस्या भएको छ,” पौडेलले भन्नुभयो।

उहाँले नजिकैको स्वास्थ्य केन्द्र बन्द हुँदा अटो खर्च, समय र वृद्ध तथा नियमित उपचार आवश्यक पर्ने बिरामीलाई थप समस्या भएको बताउनुभयो। “जनताले सुविधा पाइरहेको स्वास्थ्य केन्द्र बन्द हुनुको कारण हामीलाई थाहा छैन, तर सेवा पुनः सञ्चालन हुनुपर्छ,” उहाँको माग छ।

लक्ष्मीबासकै स्थानीय हिरा विकले पनि केन्द्र बन्द भएको विषयमा आफूलाई कुनै आधिकारिक जानकारी नभएको बताउनुभयो। सुगर र प्रेसरको बिरामी रहेको उल्लेख गर्दै उहाँले जनप्रतिनिधिसँग कुरा गर्दा “संस्था बन्द गर्ने रहर होइन, बाध्यता परेको हो, केही समयपछि खुल्छ” भन्ने प्रतिक्रिया पाएको बताउनुभयो। लामो समय बितिसक्दा पनि सेवा सुरु हुन नसकेपछि उहाँले चिन्ता व्यक्त गर्नुभयो। “सरकारी सम्पत्तिमा सञ्चालन भएको स्वास्थ्य केन्द्रमा राखिएको कर्मचारीले ताला लगाएर चाबी लिएर जानु कत्तिको जिम्मेवार काम होरु यसबारे स्पष्ट जवाफ आउनुपर्छ,” विकले भन्नुभयो।

यस विषयमा माडी नगरपालिका वडा नं–६ का वडा अध्यक्ष दिपेन्द्रराज पौडेलसँग प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन। यसैगरी, हेल्पिङ सोसाइटी नेपालका अध्यक्ष टिकाराम आचार्यलाई केन्द्र सञ्चालनमा आएको अवरोध, ताला खुलाउने पहल र आगामी योजनाबारे ह्वाट्सएपमार्फत प्रश्न पठाइए पनि समाचार तयार पार्दासम्म उहाँले कुनै जवाफ दिनुभएको छैन।

अनुगमन समितिका संयोजकलाई नै जानकारी छैन

माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतो नगरस्तरीय अनुगमन समितिका संयोजक हुनुहुन्छ। सार्वजनिक संस्था तथा सेवा प्रवाहको अनुगमन गर्ने जिम्मेवारी रहेको समितिका संयोजकलाई नै स्वास्थ्य केन्द्रमा लागेको ताला र सेवा रोकिएको विषयमा जानकारी नहुनुले स्थानीय सरकारको अनुगमन प्रणालीमाथि प्रश्न उठाएको छ।

उपप्रमुख महतोले आफू काम विशेषले काठमाडौँ आएको र ताला लगाइएको विषयमा कुनै जानकारी नभएको बताउनुभयो। उहाँले चितवन फर्किएपछि उक्त विषयमा अनुगमन गर्ने प्रतिक्रिया दिनुभयो। तर नगरभित्रको एउटा स्वास्थ्य केन्द्र लामो समय बन्द रहँदा समेत अनुगमन समितिका संयोजकलाई जानकारी नहुनु सुशासन र जवाफदेहिताको दृष्टिले गम्भीर विषय हो।

माडी नगरपालिकाले सार्वजनिक सेवा सहज बनाउने र नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा राख्ने दायित्व बोकेको छ। आफ्नै क्षेत्रभित्रको स्वास्थ्य सेवा अवरुद्ध हुँदा पनि तत्काल समाधान निकाल्न नसक्नुले स्थानीय सरकारको समन्वय र अनुगमन क्षमतामाथि प्रश्न उठाएको छ। अब प्रश्न एमपिआरसीको ताला कहिले खुल्छ भन्ने मात्र होइन, सार्वजनिक स्वास्थ्य सेवा रोकिएको अवस्थाको जिम्मेवारी कसले लिन्छ र नागरिकको सेवा पुनः सुनिश्चित गर्ने ठोस कदम कहिले चालिन्छ भन्ने हो। माडी नगरपालिकाले यस विषयमा स्पष्ट निर्णय र जवाफदेहिता देखाउनुपर्ने अवस्था आएको छ।

यो पनि पढ्नु होला


सम्बन्धित समाचार