Logo

२ साउन,काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र नेतृ रञ्जिता श्रेष्ठबीच सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएको छ।

रेशम चौधरी र रञ्जिता श्रेष्ठ श्रीमान–श्रीमती हुन्। दुवैले एकअर्काको नाम उल्लेख नगरे पनि उनीहरूले राखेका लगातारका स्टाटसलाई एकअर्काप्रति लक्षित कटाक्षका रूपमा हेरिएको छ।

विवादको सुरुआत रञ्जिता श्रेष्ठको फेसबुक स्टाटसबाट भएको हो। उनले आफ्नै संगठनभित्र अस्थिरता सिर्जना गर्ने प्रवृत्तिमाथि व्यंग्य गर्दै पार्टीभित्र दोहोरिँदै आएका विवाद र गतिविधिप्रति असन्तुष्टि जनाएकी छन्।

रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेपछि रञ्जिताको उक्त प्रतिक्रिया आएको हो। उनले विगतमा पार्टीभित्र विशेष राष्ट्रिय भेला गर्ने, अध्यक्ष हटाउने अभियान चलाउने तथा संसदीय दलको नेतृत्वलाई विवादमा तान्ने गतिविधि हुँदै आएको आरोप लगाएकी छन्।

रञ्जिताले कुनै प्रदेशमा आफ्नै दलको प्रतिनिधित्व नभएको अवस्थामा अन्य दलका सांसद बोलाएर सरकारको भविष्य तय गर्ने दाबी गर्नु राजनीतिक प्रभाव नभई प्रभावको भ्रम भएको टिप्पणी गरेकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, “जुन प्रदेशमा आफ्नै दलको प्रतिनिधित्व नै छैन, त्यहाँ अरू दलका माननीयलाई बोलाएर सरकारको भविष्य तय गर्ने दाबी गर्नु राजनीतिक प्रभाव होइन, प्रभावको भ्रम हो।” उनले संस्कृत उक्ति उल्लेख गर्दै आफ्नै घरमा आगो लगाएर अरूको घर जोगाउने दाबी गर्नु हास्यास्पद भएको बताएकी छन्।

रञ्जिताको उक्त स्टाटसपछि रेशम चौधरीले पनि फेसबुकमार्फत जवाफी आशयको स्टाटस लेखेका छन्। उनले आफूलाई कमजोर पार्ने प्रयास भइरहेको संकेत गर्दै हैसियत बनाइदिने व्यक्तिकै विरुद्ध लाग्नेहरू कसैका हुन नसक्ने टिप्पणी गरेका छन्।

रेशमले “घरमा भ्वाङ आफूले नपारेको” उल्लेख गर्दै आफैंले समस्या सिर्जना गरेर अरूको घरतर्फ ताक्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन्। उनले अर्काको अहित चाहने व्यक्ति सही बाटोमा हिँड्न नसक्ने टिप्पणी पनि गरेका छन्।

उनले लेखेका छन्, “धार्मिक मान्छेले सबैको भलो होस् भन्नुपर्छ, अर्काको सत्यानास होस् भन्ने मान्छे कहिल्यै पुजारी हुन सक्दैन।”

नागरिक उन्मुक्ति पार्टीभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक मतभेद पछिल्लो घटनासँगै सामाजिक सञ्जालमार्फत सार्वजनिक बहसको विषय बनेको छ।


सम्बन्धित समाचार