Logo

१५ जेठ, चितवन । गणतन्त्र दिवस २०८३ को अवसर पारेर चितवन जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलहरू एउटै मञ्चमा उभिएका छन्। फरक विचार, फरक राजनीतिक धार र प्रतिस्पर्धात्मक भूमिकामा रहने दलहरूले राष्ट्रिय महत्वको दिवसलाई संयुक्त रूपमा मनाउने निर्णय गरेसँगै यसले जिल्लामा सकारात्मक राजनीतिक सन्देश प्रवाह गरेको छ ।

संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमार्फत दलहरूले गणतन्त्र दिवसलाई भव्य र सभ्य रूपमा मनाउन सम्पूर्ण जिल्लावासीलाई सहभागिताका लागि आह्वान गरेका छन्। गणतन्त्र स्थापना नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट सम्भव भएको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै विज्ञप्तिमा देश र लोकतन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

दलहरूले २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट २४० वर्षे राजतन्त्र अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र घोषणा गरिएको ऐतिहासिक निर्णयलाई जनआन्दोलनको उपलब्धिका रूपमा स्मरण गरेका छन् ।

राजनीतिक रूपमा फरक विचार बोकेका दलहरू राष्ट्रिय दिवसमा एउटै ठाउँमा उभिनु केवल औपचारिकता मात्र नभई लोकतान्त्रिक संस्कारको सकारात्मक अभ्यासका रूपमा हेरिएको छ। पछिल्लो समय समाजमा बढ्दै गएको राजनीतिक ध्रुवीकरण, अविश्वास र निराशाबीच दलहरूबीचको सहकार्यले नागरिकमा आशा र विश्वासको सन्देश प्रवाह गरेको स्थानीय नागरिकहरूको भनाइ छ।

विशेषगरी लोकतन्त्र, संविधान, सुशासन, विकास र सामाजिक सद्भावजस्ता साझा मुद्दामा राजनीतिक दलहरूबीच सहमति र सहकार्य आवश्यक रहेको सन्देश पनि यस कार्यक्रमले दिएको छ । फरक पार्टी भए पनि राष्ट्रिय हित र लोकतान्त्रिक मूल्यको संरक्षणमा सबै एक हुन सक्छन् भन्ने उदाहरणका रूपमा यसलाई हेरिएको छ ।

संयुक्त कार्यक्रम अन्तर्गत जेठ १५ गते बिहान ७ बजे भरतपुर–१० स्थित चौबिसकोठीबाट प्रभातफेरी कार्यक्रम आयोजना गरिनेछ। त्यसपछि जिल्ला समन्वय समितिको सभाहलमा विशेष समारोह सञ्चालन गरिने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, पेशाकर्मी तथा सर्वसाधारणको सहभागिता रहने जनाइएको छ ।

संयुक्त विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति कृष्णप्रसाद भुषाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) चितवनका अध्यक्ष कमल पाठक तथा नेपाल कम्युनिष्ट पार्टी चितवनका अध्यक्ष नरेन्द्र कन्दङवाले हस्ताक्षर गरेका छन् ।

चितवनमा राजनीतिक दलहरूबीच देखिएको यो संयुक्त पहलले गणतन्त्र दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी लोकतान्त्रिक एकता, सामाजिक सद्भाव र सहकार्यको सन्देश दिने प्रयास भएको विश्लेषण गरिएको छ ।


सम्बन्धित समाचार