१५ जेठ, माडी(चितवन) । चितवन उद्योग संघ माडी समितिको आयोजनामा माडी क्षेत्रका उद्यमीहरुलाई लक्षित गरी सञ्चालन गरिएको दुईदिने नेतृत्व विकास तालिम एक विशेष कार्यक्रमका बीच सम्पन्न गरिएको छ ।
तालिमले स्थानीय उद्यमीहरुको क्षमता विकाससँगै उद्यमशील सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै सहभागीहरुले तालिमबाट सिकेका विषयलाई व्यवहारमा उतार्न आफूहरु तयार रहेको धारणा राखेका थिए ।
तालिमका क्रममा चितवन उद्योग संघका प्रतिनिधिहरुले संघले प्रदान गर्ने सेवा, सुविधा तथा संस्थागत भूमिकाका विषयमा जानकारी गराएका थिए । त्यस्तै आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिबाट कर, भ्याट, प्यान, करचुक्ता तथा शेयर लगतसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो । साथै कार्यक्रम व्यवस्थापन, तालिका निर्माण, अभिलेख व्यवस्थापन, उद्घोषण कला, कर्पोरेट सञ्चार तथा व्यवसायिक प्रस्तुतिसम्बन्धी विविध पक्षमा पनि प्रशिक्षण प्रदान गरिएको थियो ।
तालिम फलदायी भएको र यसले आफूहरुको आत्मविश्वास तथा व्यवसायिक सोचमा सकारात्मक प्रभाव पारेको तालिममा सहभागी राधाकुमारी आचार्यले जानकारी दिइन् ।


















