Logo

२१ जेठ, काठमाडौँ । भ्रमणका क्रममा भारतको राजधानी नयाँ दिल्लीमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार विशेष भेटवार्ता भएको छ । नयाँदिल्लीमा भएको उक्त उच्चस्तरीय भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयामसहित द्विपक्षीय सरोकारका विषयमा एक घण्टाभन्दा बढी समय गहन छलफल भएको छ ।

रास्वपा सभापति लामिछाने भारत भ्रमण पूरा गरी आगामी जेठ २२ गते स्वदेश फर्किने कार्यसूची छ । लामिछाने स्वदेश फर्किएलगत्तै नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको औपचारिक भारत भ्रमण हुने तय भएको छ । मन्त्री खनालको भ्रमणका क्रममा दुई देशबीचका प्राथमिकता र सरोकारका कार्यहरूलाई ‘चेकलिस्ट’ (सूची) बनाएर द्रुत गतिमा अघि बढाउने तयारी गरिएको छ ।

भेटवार्तामा सहभागी रास्वपा सांसद दीपक बोहोराले बीबीसी नेपाली सेवासँग कुरा गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालसँग जोडिएका सीमा समस्या, जलविद्युत् (हाइड्रो) र विमानस्थल (एयरपोर्ट) सम्बन्धी सबै विषयहरू समेटेर कार्यसूची तयार गर्न आग्रह गरेको जानकारी दिएका छन् ।

“भारतका प्रधानमन्त्रीले नेपालका हाइड्रो, एयरपोर्ट, सीमाका विषयमा छलफल गर्न र त्यसको डेटलाइन (समयसीमा) बनाएर काम गर्न सूची ल्याउन भन्नुभएको छ,” सांसद बोहोराले भने, “यो काम आफ्नो लागि उच्च प्राथमिकतामा रहेको प्रधानमन्त्री मोदीले स्पष्ट पार्नुभएको छ ।” भारतीय विदेशमन्त्री एस जयशंकरले समेत परराष्ट्रमन्त्री खनालको भ्रमणका क्रममा यी अधुरा र प्राथमिकताका कामहरूलाई सूचीकृत गरेर मन्त्रीस्तर तथा कर्मचारीतन्त्र (ब्युरोक्रेसी) मार्फत् अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले रास्वपा सभापति लामिछानेको यस भ्रमणलाई विशेष महत्त्व दिएको सांसद बोहोराको भनाइ छ । भेटका क्रममा मोदीले आफ्नो पहिलो नेपाल भ्रमणको स्मरण समेत गरेका थिए । “उहाँले पहिलोचोटि प्रधानमन्त्री भएर नेपाल जाँदा २० वर्षपछि सदनमा बोलेको स्मरण गर्दै ‘एक घण्टाको बाटो छ, तर आते-आते २० वर्ष लग गए’ भन्नुभयो र आफू पुनः नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गर्नुभयो,” बोहोराले थपे ।

भेटवार्तापछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा नेपाली भाषामै लेख्दै साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनामा आफू पूर्ण रूपमा सहमत रहेको उल्लेख गरेका छन् । सभापति लामिछानेले पनि मोदीसँग अत्यन्तै फलदायी संवाद भएको जानकारी फेसबुकमार्फत् दिएका छन् । यसअघि मङ्गलवार लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकर र भाजपाका नेता नितिन नवीन लगायतसँग कूटनीतिक भेटघाट गरेका थिए ।

रास्वपा नेताहरूको भारत भ्रमण फलदायी भइरहँदा परराष्ट्रमन्त्री शिशिर खनालको आसन्न भ्रमणको मिति भने फिक्स हुन बाँकी छ । मन्त्री खनालको सचिवालयले भारत भ्रमणको गृहकार्य भइरहेको र मितिका विषयमा काठमाडौँस्थित भारतीय दूतावासमार्फत् छलफल चलिरहेको जनाएको छ ।

सचिवालयका एक सदस्यका अनुसार भ्रमणको मिति छिट्टै निश्चित हुनेछ र लामिछाने स्वदेश फर्किएलगत्तै मन्त्री खनाल दिल्ली प्रस्थान गर्नेछन् । रास्वपाका तर्फबाट परराष्ट्र मन्त्रालय सम्हालेका खनालको यस भ्रमणले लामिछाने र मोदीबीच भएका उच्चस्तरीय राजनीतिक सहमतिहरूलाई व्यावहारिक रूपमा कार्यान्वयनमा लैजान कानुनी र प्राविधिक मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार