Logo

३० जेठ,काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनै पनि राष्ट्रको पहिचान र शक्तिको आधार भएकाले तिनको संरक्षण र प्रवर्द्धनबिना समृद्धि अपूरो हुने बताएका छन्।

गोरखापत्र संस्थानद्वारा शनिबार काठमाडौंमा आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले आर्थिक विकाससँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकासलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए।

“कला र साहित्य राष्ट्रको बल र पहिचान हो,” उनले भने, “भाषा, साहित्य र संस्कृति बलियो नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन। साहित्य संरक्षणका लागि सरकारले गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ।”

उनले बदलिँदो प्रविधि र सामाजिक सञ्जालले साहित्यिक अभिव्यक्तिका नयाँ माध्यमहरू सिर्जना गरेको उल्लेख गर्दै साहित्यको पहुँच विस्तारमा सकारात्मक भूमिका खेलेको बताए। साथै, साहित्य क्षेत्रको दीर्घकालीन विकासका लागि नीतिगत सुधार आवश्यक रहेकोमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले राजनीतिक क्षेत्रमा साहित्य र कलालाई अपेक्षित प्राथमिकता नदिइएको स्वीकार गर्दै समाज बुझ्न, मानव संवेदनालाई पहिचान गर्न र जीवनका विविध पक्षलाई विश्लेषण गर्न साहित्यको महत्त्व अपरिहार्य रहेको बताए।

उनले गोरखापत्र संस्थानजस्ता ऐतिहासिक सरकारी सञ्चार संस्था तथा साहित्यिक–सांस्कृतिक निकायहरू आर्थिक रूपमा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै तिनलाई पुनर्जीवित गर्न आवश्यक रहेको बताए।

“हाम्रो इतिहासको पुनर्जागरण गर्ने बेला आएको छ,” उनले भने, “सरकारी संस्थाहरू केवल अतिरिक्त बजेटको अपेक्षामा मात्र निर्भर हुन सक्दैनन्, कार्यशैली र व्यवस्थापनमा पनि सुधार आवश्यक छ।”

उनले विगतमा सरकारी संस्थानहरू राजनीतिक भर्ती केन्द्रजस्तै बनेका कारण धेरै संस्था कमजोर बनेको उल्लेख गर्दै अब सुधारको स्पष्ट मार्गचित्रसहित अघि बढ्ने सरकारको तयारी रहेको बताए।

सरकारले गोरखापत्र संस्थानलाई अझ व्यावसायिक, प्रतिस्पर्धी र सुदृढ बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापन नरोकिएको स्पष्ट पारे।


सम्बन्धित समाचार