Logo

३० जेठ,काठमाडौं । लामो समयदेखि प्रत्यक्ष सैन्य संघर्षमा रहेका अमेरिका र इरान ऐतिहासिक सम्झौताको निकै नजिक पुगेका छन्। दुवै देशबीच युद्ध अन्त्य गर्ने, रणनीतिक रूपमा महत्वपूर्ण हर्मोज जलमार्ग पुनः खोल्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा प्रारम्भिक सहमति जुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले सरकारी टेलिभिजनमार्फत वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिँदै आगामी केही दिनभित्रै समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने संकेत दिएका छन्। उनले वार्ता सफल भएमा आधिकारिक घोषणा गरिने बताए।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको युद्ध अन्त्य भएको र सम्झौता अत्यन्त नजिक पुगेको दाबी गरेका थिए। पछिल्लो प्रगतिसँगै इरानले समेत वार्ता सकारात्मक दिशामा अघि बढेको पुष्टि गरेको छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणपछि सुरु भएको तनाव युद्धमा परिणत भएको बताइएको छ। त्यसपछि इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि जवाफी आक्रमण गरेको थियो। यसै क्रममा विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण हर्मोज जलमार्गसमेत अवरुद्ध भएको उल्लेख छ।

अमेरिकी अधिकारीहरूका अनुसार प्रस्तावित सम्झौता विश्वासमा होइन, कार्यान्वयनमा आधारित हुनेछ। इरानले प्रतिबद्धता पूरा गरेपछि मात्र आर्थिक सुविधा र प्रतिबन्ध खुकुलो हुने व्यवस्था गरिएको छ।

सम्झौताअनुसार इरानले हर्मोज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याउनेछ भने बदलामा अमेरिका इरानी बन्दरगाह तथा जहाजहरूमाथि लगाइएको नौसैनिक नाकाबन्दी हटाउनेछ। साथै, इरानले आणविक हतियार विकास नगर्ने अनिश्चितकालीन प्रतिबद्धता जनाउने व्यवस्था पनि समेटिएको छ।

त्यस्तै, इरानको संवर्धित युरेनियम भण्डार व्यवस्थापन, प्रतिबन्ध चरणबद्ध रूपमा हटाउने प्रक्रिया, तथा मध्यपूर्वमा सक्रिय आफ्ना प्रोक्सी समूहहरूलाई दिँदै आएको समर्थन रोक्ने विषय पनि सम्झौतामा समेटिएको बताइएको छ।

इरानी विदेशमन्त्री अराघचीका अनुसार सम्झौतापछि हर्मोज जलमार्गको प्रशासनिक व्यवस्थापनमा नयाँ मोडेल लागू हुनेछ र ओमानसँग समन्वय गरेर संयुक्त घोषणा गरिनेछ।

यता, अमेरिकी पक्षले इजरायल पनि सम्झौतामा सहमत हुने विश्वास व्यक्त गरेको छ। तर, मध्यपूर्वमा अझै केही क्षेत्रमा तनाव कायम रहेकाले पूर्ण स्थायित्वका लागि थप कूटनीतिक प्रयास आवश्यक रहने विश्लेषण गरिएको छ।

दुवै पक्षका अधिकारीहरूले अधिकांश विषयमा सहमति जुटिसकेको बताउँदै आगामी केही दिनभित्रै औपचारिक समझदारी सम्भव हुने संकेत गरेका छन्।


सम्बन्धित समाचार