३१, जेठ काठमाडौं । नेकपा -एमाले) ले उम्मेदवार छनोट गर्दा मुख्यतयाः सम्बन्धित व्यक्तिको लोकप्रियता, कार्यक्षमता, इमानदारी र सामाजिक स्वीकार्यतालाई प्राथमिक आधार बनाउने भएको छ ।
०८४ को प्रदेश र स्थानीय तह निर्वाचनलाई लक्षित गरेर मिसन जागरण चलाउन लागेको एमालेले यससम्बन्धी सर्कुलरमा उम्मेदवार छनौटको विषयमा पनि उल्लेख गरेको हो ।
एमालेले उम्मेदवार हुनका लागि भूगोलको ज्ञान र जनसेवाको इतिहास हुनुपर्ने अनिवार्य सर्त राखेको छ । पार्टीले एउटै व्यक्ति पटक-पटक उम्मेदवारका रूपमा दोहोरिने प्रवृत्तिलाई पूर्ण रूपमा निरुत्साहित गर्ने नीति लिएको छ ।
उम्मेदवार छनोटका लागि पार्टीले तीन वटा मुख्य विधिहरू कार्यान्वयनमा ल्याउने सर्कुलरमा उल्लेख छ । पहिलो विधिअनुसार तल्लो कमिटीको सिफारिसमा परेका आकाङ्क्षीहरूमध्ये केन्द्रले सबैभन्दा उपयुक्त ठानेको व्यक्तिलाई उम्मेदवार तोक्नेछ ।
दोस्रो विकल्पका रूपमा, सम्बन्धित तहले सिफारिस गरेका व्यक्तिहरूमध्येबाट व्यावहारिक र रणनीतिक आधारमा कुनै एकलाई उम्मेदवार चयन गरिने, तेस्रो विधिका रूपमा सम्बन्धित तहका तोकिएका पार्टी सदस्यहरूको मतदान (इन्टरनल पोलिङ) बाट प्रत्यक्ष रूपमा उम्मेदवार छनोट गर्ने प्रावधान पनि राखिएको छ ।
एमालेले नेतृत्वमा ‘अन्तरपुस्ता आबद्धता’ र ‘योजनाबद्ध रूपान्तरण’ को नीतिलाई पनि उम्मेदवार छनोटको आधार बनाएको छ । यसअन्तर्गत पहिलो पुस्ताका पाका नेताहरूलाई मार्गदर्शकको भूमिकामा राखेर दोस्रो र तेस्रो पुस्ताका सक्षम, इमानदार र लोकप्रिय युवाहरूलाई निर्णायक चुनावी मैदानमा उतार्ने पार्टीको योजना छ ।
पार्टीभित्रको वर्तमान उमेर समूहको तथ्याङ्कलाई हेर्दा ५० वर्ष माथिका नेताहरूको बाहुल्यता रहेको स्वीकार गर्दै एमालेले अबको नेतृत्व र उम्मेदवारीमा ४० वर्ष मुनिका युवाहरूको सङ्ख्या बढाउन विशेष जोड दिएको छ ।
















