Logo

२ असार, काठमाडौं । गत वर्ष शिवरात्रिको भोलिपल्ट पशुपतिनाथ मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

धादिङ घर भई पशुपति क्षेत्रमा ‘द्रव्यनाथ बाबा’ का रूपमा चिनिने सुविन राना मगरलाई महोत्तरीको गौशालाबाट पक्राउ गरिएको हो । करिब चार महिनाको लामो अनुसन्धानपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

मृतक संखुवासभाका अन्दाजी २५ वर्षीय सन्तोष गिरी (परियार) रहेको खुलेको छ । अनुसन्धानबाट सो हत्या प्रकरणमा राना मगरका साथै ‘अनुपनाथ’ नाम गरेका अर्का एक भारतीय बाबाको समेत संलग्नता रहेको देखिएको छ । ती भारतीय बाबा घटना लगत्तै फरार भई भारत पुगेको प्रहरी स्रोतले जनाएको छ। घटनाको मुख्य कारण मोबाइल चोरीको आरोप र तान्त्रिक शक्ति आर्जन गर्ने अन्धविश्वास रहेको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीका अनुसार, शिवरात्रिका अवसरमा आएका भारतीय बाबाको मोबाइल हराएपछि उनले सन्तोषमाथि चोरीको शङ्का गरेका थिए । सुरुमा प्रहरीको जिम्मा लगाइएका सन्तोषलाई पछि तिनै बाबा र पक्राउ परेका नेपाली बाबाले आफ्नै नियन्त्रणमा लिएर रातभर बर्बर यातना दिई हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तान्त्रिक विधिबाट ‘भोग’ दिएमा शक्ति प्राप्त हुने भन्दै गरिएको यो अमानवीय कार्यले पशुपति जस्तो पवित्र स्थलको गरिमामाथि नै गम्भीर प्रश्न उठाएको छ । पक्राउ परेका राना मगरमाथि थप कानुनी कारबाही अघि बढाइएको छ भने फरार भारतीय बाबाको खोजी कार्य जारी छ ।


सम्बन्धित समाचार
भर्खरै