२ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणाले आफूहरू साउन २८ गतेभित्र नेपाल फर्केर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
जेठ २८ गते विभागलाई इमेलमार्फत पत्राचार गर्दै उनीहरूले आफूहरू हाल स्वास्थ्य उपचारका क्रममा रहेको स्पष्ट पार्दै अनुसन्धानमा सदायसतापूर्वक सहयोग गर्न तत्पर रहेको बताएका हुन् । विगत लामो समयदेखि मुलुकबाहिर रहेका देउवा दम्पतीले आफूहरूलाई ‘देश छाडेर भागेको’ वा ‘अनुसन्धान छलेको’ भनी गलत भाष्य सिर्जना नगर्न र नेपाल प्रवेशमा कठिनाइ हुने गरी पक्राउ पुर्जी जारी नगर्न सरकारसँग आग्रह गरेका छन् ।
देउवा दम्पतीले इमेलमा आफूहरू देशको प्रधानमन्त्री र परराष्ट्र मन्त्री जस्तो उच्च सार्वजनिक पदमा बसिसकेको हुनाले कानुनी प्रक्रियाबाट भाग्ने उद्देश्य नभएको जिकिर गरेका छन् । उनीहरूले आफ्नो निर्दोषिता पुष्टि गर्न कानुनसम्मत, खुला र पारदर्शी अनुसन्धानमा उपस्थित भई पूर्ण सहयोग गर्ने स्पष्ट पारेका हुन् ।
साथै, आफूहरूविरुद्ध अनुसन्धान जारी रहे पनि कसुर पुष्टि हुने कुनै ठोस प्रमाण नरहेको र सर्वोच्च अदालतले समेत धरपकड नगर्न अन्तरिम आदेश जारी गरिसकेको स्मरण गराउँदै उनीहरूले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्ने जस्ता कदम नचाल्न विभागको ध्यानाकर्षण गराएका छन् ।
देउवाले आफू नेपालबाहिर जानुअघिसम्म पनि विभागबाट उपस्थितिका लागि कुनै औपचारिक पत्र प्राप्त नभएको र आफ्नो घरको खानतलासी मुचुल्काबाट समेत कुनै अवैध धन वा बहुमूल्य वस्तु फेला नपरेको दाबी गरेका छन् ।
अख्तियार लगायतका कुनै पनि संवैधानिक निकायबाट आफूहरूविरुद्ध छानबिन भइरहेको अवस्था नरहेको उल्लेख गर्दै उनले विभागको अनुसन्धानमा सघाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। २०८२ फागुन १३ गतेदेखि मुलुकबाहिर रहेका देउवा दम्पतीले हाल आफूहरू कुन स्थानमा रहेको भनेर सार्वजनिक नगरे पनि साउन २८ गतेभित्र नेपाल फर्कने मिति सार्वजनिक गरेर अनुसन्धान प्रक्रियालाई सहज बनाउने प्रयास गरेका छन् ।
















