१० असार, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार घटेको मूल्यमा आज बुधबार पनि थप गिरावट देखिएको हो । आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा झरेको छ। यसअघि हिजो पनि सुनको मूल्य १ हजार ६ सय रुपैयाँले घटेको थियो ।
सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ । आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि चाँदीको मूल्य १४० रुपैयाँले घटेको थियो ।
स्मरण रहोस्, गएको माघ १५ गते नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दु अर्थात् प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो। सोही दिन चाँदीको मूल्य पनि ७ हजार ५०५ रुपैयाँ पुगेर कीर्तिमानी उचाइमा थियो । त्यसयता बजारमा भएको उतारचढाव र पछिल्ला दिनहरूमा देखिएको निरन्तरको गिरावटले मूल्यमा भारी परिवर्तन ल्याएको छ ।

















