१० असार,माडी । माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९७ करोड ७४ लाख ८३ हजार ६३६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख खेमप्रसाद महतोले नगरसभामा बजेट वक्तव्य प्रस्तुत गर्दै उपलब्ध स्रोत–साधनलाई जनमुखी विकास, सेवा प्रवाह र दीर्घकालीन समृद्धिसँग जोड्ने गरी बजेट निर्माण गरिएको जानकारी दिएका छन्।
प्रस्तुत बजेटअनुसार कुल विनियोजनमध्ये ६४ करोड ३७ लाख ५३ हजार १९९ रुपैयाँ चालूतर्फ छुट्याइएको छ। यस रकमबाट शिक्षा, स्वास्थ्य, कृषि, प्रशासनिक सेवा, सामाजिक सुरक्षा, कर्मचारी व्यवस्थापन तथा विभिन्न नियमित कार्यक्रम सञ्चालन गरिनेछ। त्यस्तै, विकास निर्माण र भौतिक पूर्वाधार विस्तारलाई लक्षित गर्दै पूँजीगततर्फ ३३ करोड ३७ लाख ३० हजार ४३७ रुपैयाँ विनियोजन गरिएको छ।
उपप्रमुख महतोले सीमित स्रोतका बाबजुद नागरिकका आधारभूत आवश्यकता सम्बोधन, कृषि उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको बताएका छन्। नगरपालिकाले समावेशी विकास, सुशासन र सेवाप्रतिको पहुँच विस्तारलाई समेत बजेटको मुख्य आधार बनाएको उल्लेख गरिएको छ।
यसैबीच, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नगरपालिकाको उपलब्ध स्रोत र साधनलाई अधिकतम सदुपयोग गर्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने खालका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताए।
“बजेटको सफलताको मापन रकम खर्चमा मात्र नभई त्यसले जनजीवनमा ल्याउने सकारात्मक परिवर्तनमा निर्भर हुन्छ,” भन्दै प्रमुख प्रशासकीय अधिकृत भुसालले विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्न प्रशासनिक संयन्त्र पूर्ण रूपमा प्रतिबद्ध रहने उल्लेख गरे।
आगामी आर्थिक वर्षको बजेटले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि तथा सामाजिक क्षेत्रका कार्यक्रमलाई निरन्तरता दिँदै उत्पादन र रोजगारी अभिवृद्धिमा जोड दिएको नगरपालिकाको भनाइ छ। स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै आर्थिक गतिविधि चलायमान बनाउने र विकासका उपलब्धिलाई दिगो बनाउने लक्ष्यसहित बजेट प्रस्तुत गरिएको उपप्रमुख महतोले बताएका छन्।
नगरसभामा प्रस्तुत हुने यो बजेटले समृद्ध माडी निर्माणको आधार तयार गर्ने अपेक्षा गरिएको छ भने प्रभावकारी कार्यान्वयनमार्फत नागरिकले प्रत्यक्ष लाभ महसुस गर्ने विश्वास व्यक्त गरिएको छ।

















