Logo

११ असार, काठमाडौं । भारतीय टी बोर्डको अवरोधका कारण निर्यात ठप्प भई बन्द भएका इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन् ।

संघीय सरकार र सूर्योदय नगरपालिकाबाट समस्या समाधानको ठोस प्रतिबद्धता प्राप्त भएपछि असार १ गतेदेखि बन्द रहेका ५३ वटा चिया उद्योगहरू सञ्चालन गर्ने निर्णय भएको सूर्योदय अर्थोडक्स चिया उत्पादक सङ्घले जनाएको छ । चिया निर्यातमा देखिएको अवरोध र त्यसले किसानको भुक्तानी तथा उत्पादन भण्डारणमा पारेको असरबारे स्थानीय सरकार र संघीय सरकारसँग भएको सकारात्मक वार्ताले उद्योगीहरूलाई काममा फर्किन प्रेरित गरेको हो ।

चिया क्षेत्रका समस्याहरूको दीर्घकालीन समाधान खोज्न सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ, जसले व्यवसायी र सरोकारवाला मन्त्रालयहरूसँग निरन्तर छलफल गरिरहेको छ । उद्योग खोल्ने निर्णयसँगै सूर्योदय नगरपालिकाले उत्पादित चिया भण्डारणका लागि गोदामको व्यवस्था गरिदिने प्रतिबद्धता जनाएको छ ।

सङ्घका कार्यवाहक अध्यक्ष ज्ञानी लिम्बूद्वारा जारी विज्ञप्तिमा अबका दिनमा गुणस्तरीय र विषादीरहित अर्थोडक्स चिया उत्पादनलाई प्राथमिकता दिइने र अन्तर्राष्ट्रिय मापदण्डअनुसार वैकल्पिक बजारको विस्तारका लागि पहल गरिने प्रतिबद्धता उल्लेख छ ।


सम्बन्धित समाचार