११ असार, काठमाडौं । भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण मानवीय क्षति बढ्ने क्रम जारी छ ।
कार्यवाहक राष्ट्रपति डेल्सी रड्रिगेजका अनुसार हालसम्म भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ भने ९७१ जना घाइते भएका छन् । बुधबार बिहान गएको ७ दशमलव २ र ७ दशमलव ५ रेक्टर स्केलको यो शक्तिशाली भूकम्पलाई पछिल्लो एक शताब्दीयताकै ठूलो विपद् मानिएको छ ।
भूकम्पका कारण दर्जनौँ अग्ला भवनहरू भत्किएका छन्, जसले गर्दा भग्नावशेषमा धेरै मानिस पुरिएको आशंका गरिएको छ । यद्यपि, काराकासको उत्तरमा पर्ने ला गुएइरा सहरमा उद्दारकर्मीहरूले भग्नावशेषबाट तीन बालबालिकालाई सकुशल बाहिर निकाल्न सफल भएका छन् ।
तीव्र गतिमा भइरहेको खोजी तथा उद्दार कार्यमा थप सफलता मिल्ने अपेक्षा गरिएको छ । छिमेकी राष्ट्रहरूमा समेत महसुस गरिएको यस भूकम्पले पुर्याएको भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी नै छ ।

















